महोत्तरी — सरकारले बजेटमा सुनचाँदी तथा रत्नयुक्त गहनामा विलासिता कर थप गरी तस्करी र अवैध कारोबारलाई प्रोत्साहन गरेको विरोधमा सुनचादी व्यवसायी महोत्तरीमा आन्दोलित भएको छ ।
बजेटमार्फत सुनचाँदी तथा रत्नयुक्त गहना व्यवसायमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र २ प्रतिशत विलासिता करको विरोधमा नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरी तथा महोत्तरी रन तथा आभूषण संघ आन्दोलन थालेको छ ।
व्यवसायीहरुले पसल बन्द गरी नेपालभरि एकरुपता ल्याउने गरी सुनचाँदी व्यवसाय निर्देशिका तत्काल जारीको माग गर्दै बर्दिबासस्थित एकीकृत सेवा केन्द्रमा शान्तिपूर्ण विरोध कार्यक्रम गरी ज्ञापनपत्रसमेत बुझाएको छ । कर वद्धिले गहना अत्यधिक महँगो भएकाले उपभोक्ता प्रभावित हुनुको साथै व्यवस्थित व्यवसायीहरू संकटमा परेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय उपाध्यक्ष सुधीर अग्रवालले बताए । सरकारको नीतिले तस्करी र अवैध कारोबारलाई प्रोत्साहन मिलेको छ,’ उनले भने,‘थप भएको करले गर्दा राजस्व संकलनमा समेत दीर्घकालीन असर पर्ने छ ।’
‘हामीले २ प्रतिशत विलासिता कर खारेज, १३ प्रतिशत भ्याट पुनरावलोकन गरी व्यवसाय अनुकूल बनाउनु पर्ने, खरिद पछि ग्यारेन्टीमा प्रणालीमा कर छुटको व्यवस्था हुनु पर्ने, टेक्निकल तालिम, प्रमाणीकरण र परीक्षण प्रयोगशालाको सुविधा दिनु पर्ने, परम्परागत हस्तकलामा कर दर घटाइ प्रोत्साहन गर्नु पर्ने र दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नु पर्ने माग राखि आन्दोलन थालेको छौं,' उनले भने ।
