रौतहट — रौतहटको कटहरिया नगरपालिका–१ स्थित माध्यमिक विद्यालय भषेडवाको कम्प्युटर चोरेको आरोपमा प्रहरीले ३ युवकलाई पक्राउ गरेको छ । पक्राउ परेको तीनैजनाविरुद्ध चोरीको मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जनायो । घट्ना तीन दिन अघिको भए पनि पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार पक्राउ पर्नेमा कटहरिया–१ भासेढवाका मुकेश दास, राधेश्याम दास र राजु दास हुन् । उनीहरु तीनैजना एकै गाउँका हुन् ।
गएको शनिबार तीनैजना मिलेर राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखा गेटको ताल्चा फुटाई एक थान कम्प्युटर चोरी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले चोर पत्ता लगाउन अनुसन्धान थालेको थियो । सोही क्रममा कम्प्युटर चोरी भएको भोलीपल्ट प्रहरीले आरोपीमध्ये राजु दासको घरमा खानतलासी गर्दा विद्यालयबाट अहिले र पहिला पनि चोरी भएका सामानहरु बरामद गरेको छ ।
ईलाका प्रहरीका डीएसपी राजन कार्कीले चोरीको आरोपमा पक्राउ परेका तीनैजनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालेको जानकारी दिए । सोही विद्यालयमा यसअघि दुई पटक चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताए । चोरीका आरोपमा पक्राउ परेकाहरुको विद्यालयकै छेउमा घर रहेको छ । यही कारण उनीहरु पटक/पटक विद्यालयको समान चोर्न पल्केको प्रहरीको भनाइ छ ।
