हेल्थ डेस्क १६ महिनादेखि कोरोना परीक्षण किटविहीन

शंकास्पद बिरामी नाकामा भेटिए नारायणी अस्पताल रेफर गर्न निर्देशन

जेष्ठ २७, २०८२

शंकर आचार्य

The health desk has been without a corona test kit for 16 months

पर्सा — मुलुककै प्रमुख स्थल नाका वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्क झन्डै १६ महिनादेखि कोरोना परीक्षण गर्ने किटविहीन रहेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालय स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार पछिल्लो पटक २०८० माघ २५ गते डेस्कमा किट सकिएको हो । त्यसपछि डेस्कमा किट आएको छैन ।

आफूहरुले पटकपटक किट माग गर्दै सरुवा रोग महामारी नियन्त्रण महाशाखा काठमाडौंलाई पत्राचार गरिसकेको ठाकुर बताउँछन् । ‘हामीले पटकपटक यहाबाट महाशाखालाई पत्राचार गरेर किट मागेका छौं,’ उनले भने, ‘तर महाशाखाबाट किट प्राप्त भएको छैन, बरु शंकास्पद बिरामी नाकामा भेटिए नारायणी अस्पताल रेफर गर्नु भनी निर्देशन आएको छ ।’

हाल छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको छ । मुलुकको प्रमुख स्थल नाकाको डेस्कमै किटको अभाव हुँदा जोखिम बढेको छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटक तथा भारतमा रोजगारी तथा तीर्थाटन गरेर फर्कने नेपालीबाट पनि कोरोना संक्रमण भित्रिने उच्च जोखिम रहेको ठाकुरले बताए ।   

झन्डै ३ वर्षदेखि यहाँस्थित हेल्थ डेस्कमा कोरोना संक्रमित फेला पर्ने क्रम ठप्प प्राय: रहेको थियो । त्यसमध्ये १६ महिनायता किट नै नभएपछि परीक्षणसमेत बन्द रहेको छ । 

कोरोना संक्रमणको चौथो लहर फैलिँदासम्म यो नाका हुँदै नेपाल प्रवेश गर्दा संक्रमित पुष्टि भएकाहरुमा अधिकांश भारतीयमा नेपालमा मजदुरी गर्न आउने,  व्यावसायिक यात्रामा र केही पर्यटन तथा तीर्थाटन प्रयोजनले नेपाल आउन लागेका थिए । विगतमा पनि भारत र नेपालमा एकैसाथ कोरोना संक्रमण देखिने प्रवृत्ति रहेकामा यस पनि नेपालमा छिट्टै कोरोना संक्रमण देखा पर्ने सम्भावना बढेको छ । ३ वर्षपछि भारतमा देखा परेको कोरोनाको पाँचौ लहरले छिट्टै नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने प्रबल सम्भावना रहेको विज्ञ बताउँछन् । 

वीरगन्जको छिमेकी सहर रक्सौलबाट भारतको दिल्ली, कोलकता, मुम्बई, बनारस लगायतका ठूला सहरसँग सोझो रेल सम्पर्क रहेकाले यो नाका हुँदै कोरोना संक्रमण नेपाल भित्रिने उच्च जोखिम रहेको छ ।

शंकर

Link copied successfully