दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु, दुई गम्भीर

जेष्ठ २५, २०८२

शंकर आचार्य

One Indian citizen died in the accident, two seriously

पर्सा — वीरगन्जमा आइतबार भएको सवारी दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ । तीन घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकृत डीएसपी सुवास भट्टका अनुसार, मृत्यु हुनेमा भारत बिहार जिल्ला बेतिया नरकटियागन्जका ३० वर्षीय बिटु सर्राफ छन् । घाइते अन्यमा सोही ठाउँका ४० वर्षीय गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र २१ वर्षीय अर्का बिटु सर्राफ छन् । 

दिउँसो ३ बजेर १० मिनेटमा समयमा उनीहरु सवार बिआर ५५ बि ९१०४ भारतीय नम्बरको कार वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको थियो । गम्भीर अवस्थामा घाइतेहरुलाई एलएस न्युरो अस्पताल परवानीपुरमा उपचारका लागि भर्ना गरिएको थियो । त्यस क्रममा दिउँसो ३ बजेर ५० मिनेटमा ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको हो । 

अर्का २१ वर्षीय बिटु सर्राफ र गणेश सर्राफको अवस्था गम्भीर रहेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully