सप्तरीमा लुटपाटसँगै हत्या : ‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

जेष्ठ २३, २०८२

विद्यानन्द राम

Robbery and murder in Saptari: With the help of 'Jange', a thorough investigation is being carried out, one suspect has been arrested

राजविराज — सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी एक जनाको हत्या गरेको घटनामा जंगे (तालिम प्राप्त कुकुर)को सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको छ भने शंकास्पद एक जनालाई पक्राउ गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको हो ।

लुटपाट र हत्या घटनाको सूक्ष्म अनुसन्धानका लागि जंगे मगाइएको एसपी ढकेन्द्र खतिवडाले बताए । ‘घटनास्थलबाट तीन राउन्ड गोली र एउटा खोखा पनि बरामद भएको छ,’ उनले भने, ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं भने थप अनुसन्धान भइरहेको छ ।’

राति करिब १२ बजेतिर टोलमा लुटपाट भइरहँदा प्रतिकार गरेका स्थानीय ५० वर्षीय कान्तलाल चौधरीमाथि लुटेराले गोली प्रहार गरेका थिए । गोली लागेर चौधरीको राति नै मृत्यु भइसकेको छ भने धारिलो हतियारबाट गम्भीर घाइते भएका उनका भाइ ४० वर्षीय रामाकान्त चौधरीको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको एसपी खतिवडाले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully