सिरहा — लहान नगरपालिका-२०, ब्राह्मण गोर्छारीस्थित एउटा रूखमुनि मंगलबार बिहान महिलाहरूको बाक्लो भीड थियो । यही भीडमा आइपुगे, लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरी । सबैलाई उनले नमस्कार गरे, सहभागी महिलाहरूले पनि नमस्कार फर्काए ।
कार्यक्रमस्थलमै रहेका नगर प्रहरी र नगरपालिकाका कर्मचारीहरूले रूखमुनिको चौतारामा भण्डारण गरिएका पोकाहरू मेयर चौधरीको हातमा दिन थाले । एक कर्मचारीले पालैपालो नाम भन्दै गए, मेयर चौधरीले ती महिलाहरूलाई उक्त पोका हस्तान्तरण गर्दै गए ।
पोकामा थियो, दस किलो चामल, एक/एक किलो दाल, मटर, चना, नुन, सोयाबिन, एक लिटर खाने तेलजस्ता खानेकुरा । अनि यो खाद्यान्न सामग्री प्राप्त गर्नेहरू थिए, यहाँकी सुत्केरी तथा गर्भवती महिला । यो वडाकी ५० जना महिलाले मंगलबार खाद्यान्न सामग्री पाए ।
नगरपालिकाले विगत तीन वर्षदेखि वडापिच्छे हरेक महिनाको २२ गते वा त्यसको एक दुई अगाडि-पछाडि यसैगरी सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक खाद्यान्न प्रदान गर्दै आएको छ । यसका लागि नगरपालिकाले 'खाद्यान्न सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम' नै सञ्चालन गरेको छ ।
नगरपालिकाका अनुसार, यो तीन वर्षमा नगरपालिकाको २४ वटै वडाका १२ सयभन्दाबढी महिला यस कार्यक्रमबाट लाभान्वित भएका छन् । यो पौष्टिक खाद्यान्न सामग्री नगरपालिकाको स्वास्थ्य संस्थामा आएर नियमित जाँच गराउने गर्भवती तथा सुत्केरी महिलालाई मात्रै प्रदान गर्ने नीति नगरपालिकाले अपनाएको छ ।
यसले गर्दा गर्भवती तथा सुत्केरी महिला स्वास्थ्य संस्थाको पहुँचमा आएकी छिन् । उनीहरूमा गर्भवती तथा सुत्केरी भएपछि स्वास्थ्य संस्थामा आएर जाँच गराउने बानीको विकास भएको छ । अहिले महिला टीडी सुई लगाउन, विभिन्न प्रकारका औषधि लिन र महिनैपिच्छे नियमित स्वास्थ्य जाँच गराउन आफैं आउने गरेको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताइन् ।
गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासँग जोड्न र स्वास्थ्य सचेतना जगाउन नै यो कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख चौधरीले बताए । अहिले यो कार्यक्रम निकै प्रभावकारी बनेको उनको भनाइ छ ।
‘खासगरी गरिब परिवारका महिलाहरूमा गर्भवती र सुत्केरी अवस्थामा जचाउनुपर्छ र पोषिलो खाना खानुपर्छ भन्ने थिएन, यसले बच्चामा कुपोषण र आमाको स्वास्थ्यमा समस्या निम्त्याउँछ,' उनले भने, 'तर, यो कार्यक्रमले महिलाहरूमा सचेतना जगाएको छ, हाम्रो उद्देश्य यही नै हो ।'
नगरमा विपन्न र दलितको जनसंख्या धेरै भएको र सुत्केरी तथा गर्भवतीको पोषण सुधार गर्न यो कार्यक्रम निरन्तरता रहने नगर प्रमुख चौधरीले बताए ।
