राजविराज — सप्तरीस्थित कोशी पश्चिमी नहरको सर्भिस सडक मर्मत तथा पुनर्निर्माणका लागि जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतले माग गरेका छन् । नहरको सर्भिस सडक वर्षौंदेखि मर्मत हुन सकेको छैन ।
दैनिक रूपमा पाँच हजारभन्दा बढी नागरिक आवतजावत गर्ने सडक निर्माण नहुँदा स्थानीयले सास्ती बेर्होनु परिरहेको छ । कोशी सम्झौताअनुसार कोशी पश्चिमी नहर सर्भिस सडक भारत सरकारको कोशी योजनाले मर्मत र पुनर्निर्माण गर्नुपर्ने हो ।
जनमतअध्यक्ष राउतले सो सर्भिस सडक मर्मत र पुनर्निर्माणका लागि भारत सरकारलाई पत्राचार गरिदिन गत वैशाख ५ गते नै नेपाल सरकार ऊर्जा मन्त्रालयमा लिखित आग्रह गरेका थिए । 'भारत सरकारलाई सो सडक पुनर्निर्माणका लागि सिफारि सहित पत्राचार गर्न ऊर्जा मन्त्रालयमा लिखित आग्रह गऱ्यौँ,' राउतले कान्तिपुरसित भने, 'भारतीय दूतावास र कोशी योजना वीरपुरमा समेत यसबारे जानकारी गराउँदै सडक पुनर्निर्माणका लागि आग्रह गरेका छौँ ।'
सप्तरी सदरमुकाम राजविराजदेखि दक्षिण र पश्चिमतर्फको ग्रामीण क्षेत्रमा सडकको यस्तो समस्या हो । १२ वैशाख २०११ सालमा भारत र नेपालबीच भएको कोशी सम्झौताबमोजिम सप्तरीमा ३५ किलोमिटर लम्बाइ भएको कोशी पश्चिमी नहर निर्माण भएको हो । नहरको दक्षिणी डिलमा सडक निर्माण भएको थियो । सो सडक नै अहिले सप्तरीको पश्चिमी दक्षिणी क्षेत्रका नागरिकलाई सदरमुकामसँग जोडने मूल बाटो हो ।
पछिल्ला केही वर्षयता नहरको सर्भिस सडक जीर्ण बनेको हो । सोही क्षेत्रका बासिन्दासमेत रहेका पूर्व जिविस सदस्य विशेश्वर रजकले भने, 'वर्षातका बेला एम्बुलेन्स पनि गाँउ आउजाउ गर्ने अवस्था रहँदैन ।'
