सिंगो बस्ती शौचालयविहीन, सार्वजनिक शौचालयमा ताला

जेष्ठ १७, २०८२

विद्यानन्द राम

Entire slum without toilet, lock in public toilet

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीस्थित वडा कार्यालयसँगै जोडिएको सुकुम्बासी सदा (मुसहर) बस्ती नै शौचालयविहीन छ। ‘जेकर घरमे चर्पी नइँ, ओकर घरमे शादी नइँ’ (जसको घरमा चर्पी छैन, उसको घरमा विवाह हुँदैन) मुल नाराकासाथ २०७४ चैत २१ मै सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ।

त्योबेला ८० प्रतिशत भन्दा बढी घरमा शौचालय निर्माण भइसकेको र बाँकी विपन्न सुकुम्बासीका लागि स्थानीय सरकारले सार्वजनिक शौचालय बनाइदिने प्रतिबद्धता जनाएपछि जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो।

तर प्रतिबद्धताअनुसार उक्त बस्तीमा पनि सोही आर्थिक वर्षमा ७ लाख रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो । तर, ७ वर्ष बितिसक्दा पनि सदा समुदायलाई शौचालय प्रयोग गर्न दिएको छैन।

सार्वजनिक शौचालयमा जनप्रतिनिधिले नै ताला लगाएर राख्दा बस्तीका १ सय २५ जना बढी खुल्ला स्थानमै शौच गर्न बाध्य छन् । ‘शौचालय बनाउन कति पटक आँट गरे तर ज्याला मजदुरी गरेर ल्याएको पैसा परिवारको छाक टार्नैमा सकिन्छ,’ स्थानीय ३० वर्षीय राजकुमार सदाले भने, ‘घरमा शौचालय नहुँदा खेतबारी, बाँसघारी र झाँडीतिरै शौच गर्नुपर्दा महिलालाई अत्यधिक समस्या भइरहेको छ ।’

Entire slum without toilet, lock in public toilet

शौच गर्न बिहान ३ बजे उठ्नुपरेको ४८ वर्षीया खुखरीदेवी सदाले बताइन् । ‘उज्यालो हुनुभन्दा पहिले शौच गरिएन भने बडो मुस्किल भइरहन्छ,’ उनले भनिन्, ‘अर्काको खेतबारीमा शौच गर्दा बिहानै गाली पनि खानुपर्छ तर गरिब–दलितको समस्या बुझ्ने कसैलाई फुर्सद छैन् ?’ सार्वजनिक शौचालयमा लगाएको ताला खोलिदिन जनप्रतिनिधिलाई ७ वर्षदेखि आग्रह गर्दै आउँदा पनि नमानेको ६८ वर्षीय बन्ठु सदाले गुनासो गरे ।

‘वडाध्यक्षदेखि गाउँपालिका अध्यक्षसम्मलाई यहाँका समस्या सुनाए तर उहाँहरुलाई हामीसँग कुनै मतलबै देख्दिनँ, अब समस्या सुनाउने पनि त कसलाई ?’ उनले भने । वडाध्यक्ष कपिलेश्वर साहले उक्त सार्वजनिक शौचालय एक पटक सञ्चालनमा आएको बताउँदै बालबालिकाले ‘सेप्टिक ट्यांक’सँग जोडिएको पाइप फोडेपछि ताला लगाइएको बताए ।

‘गाउँपालिकाले हामीलाई मर्मतसम्भारका लागि बजेट दिँदैन, अहिले वडा कार्यालयलाई धेरैको उधारो तिर्न बाँकी छ,’ उनले भने, ‘शौचालयको मर्मत त म आफ्नै पैसाले गराइदिन्छु पनि तर यिनीहरुले फेरि तोडफोड नगर्ला भन्ने छैन् । जिम्मा लिने कोही नहुँदा बन्द राखेको छु ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully