नेपाली रेल मर्मत हुने भएपछि आयो भारतीय रेल

जेष्ठ १६, २०८२

अजित तिवारी

Indian Railways came after the Nepalese railways were repaired

जनकपुर — नेपालले आफैले किनेको दुई सेट डेमु रेल सञ्चालनमा आएको करिब ४ वर्षपछि मर्मतका लागि भारत लगिँदै छ । नेपाली रेल मर्मतमा गएपछि त्यस अवधिमा भारतले एक सेट आफ्नो रेल नेपाल पठाइसकेको छ । 

आइतबार मर्मतका लागि नेपालका दुवै सेट रेल भारतको लखनउ पठाउन लागिएको हो । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाका अनुसार दुवै सेट रेलको लखनउमा पिरोडिकल ओभरहलिङ(पीओएच) मर्मत हुनेछ । 'यो भनेको रेल सेटको खोल्न मिल्न सबै भागको मर्मतसम्भार गर्नु हो । यो नियमित मर्मतसम्भार हो,’ झाले भने,‘आइतबार नेपाली दुवै सेट रेल भारतीय रेल्वेको लखनउस्थित वर्कसपमा पठाइँदै छ । नेपाली रेल मर्मत नहुन्जेलसम्म भारतले पठाएको रेलबाट सेवा सञ्चालन हुनेछ ।’

नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासकीय अधिकृत तुला डाँगीले लखनउमा नेपाली रेलको चक्का, इन्जिन, बोगी, सिट लगायतका सबै भागको मर्मत गरिने बताए । नेपाली रेलको एसी बोगीको केही सिट च्यातिएको र टुटफुट भएको छ । मर्मतसम्भार भएर आएपछि यी सबै समस्या हटने डाँगीले बताए ।

भारतले सुरुमा लखनउसम्म प्रयोग गर्ने रेल रुटको पैसा दाबी गरे पनि पछि रेल्वे रुट, मर्मतसम्भार र मर्मत अवधिमा सञ्चालनका लागि पठाएको एक सेट रेलको पनि पैसा नलाग्ने जनाएको छ । 

Indian Railways came after the Nepalese railways were repaired

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक झाले सूचना जारी गरेर मर्मतसम्भारको अवधिमा नेपालमा चल्ने भारतीय रेलमा एसी बोगी नरहेको जनाएका छन् । ‘भारतले पठाएको रेलमा एसी कोचको सुविधा छैन । सबै जनरल कोच मात्र छ,’ झाले भने,‘मर्मतसम्भारको अवधिमा भारतीय रेलबाट दैनिक जयनगर–जनकपुर तीन पटक र जनकपुर–भंगहा खण्डमा दैनिक एक पटक सञ्चालन हुनेछ ।’

मर्मतसम्भारको अवधिमा नेपालमा सञ्चालनका लागि भारतले आईसीएफ मोडलको सकुरबस्ती रेल बिहीबार नै धनुषाको इनर्वामा पठाइसकेको कम्पनीका निमित्त प्रशासकीय अधिकृत डाँगीले बताए । उनले भारतले पठाएको रेल सिंगल इञ्जिनसहित ६ जनरल बोगी भएको जानकारी दिए । ‘भारतले पठाएको रेलमा दुवैतिर इञ्जिन जोड्न मिल्छ,’ डाँगीले भने, ‘तर, सिंगल इन्जिनबाट नै रेल सञ्चालनमा ल्याइनेछ ।’

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully