८५ वर्षको प्रतीक्षापछि राजविराजमा बसपार्क

चौथो पटक शिलान्यास र ६ पटक म्याद थप भएपछि बल्ल बन्यो बसपार्क

जेष्ठ १६, २०८२

अवधेशकुमार झा

Bus park in Rajviraj after 85 years of waiting

राजविराज — टाउन प्लानिङ गरी बसाइएको सप्तरीको राजविराजमा ८५ वर्षपछि बसपार्क सञ्चालनमा आएको छ । चौथो पटकको शिलान्यास र ६ पटक म्याद थप भएपछि बहुप्रतिक्षित बसपार्क निर्माण समपन्न हुन सकेको हो । राजविराज नगरपालिका–२ राजदेवी चोकमा निर्माण भएको राजविराज बसपार्कको बिहीबार कार्यवाहक नगरप्रमुख ईसरत परविणले उद्घाटन गरेपछि यो बसपार्क सञ्चालनमा ल्याइएको हो ।

१९९७ सालमा राजविराज सहर बसाइएपछि बसपार्कको आवश्यकता महसुस गरिएको थियो । विभिन्न नाममा शिलान्यास हुँदै गएपनि बसपार्क निर्माणको कार्य अलपत्र पर्दै आएको थियो ।

बसपार्क सञ्चालनमा आउन नसक्दा अहिले राजविराजका मुख्य सडकमै बसहरू पार्किङ गरेर राखिने र त्यहीँबाट बसहरू सञ्चालन हुने गरेको छ । मुख्य सडक र चोकबाटै बसहरू सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन अव्यवस्थित भएको छ भने नगरको स्वरूप पनि कुरूप बनाएको थियो । बसपार्क निर्माण सम्पन्न भएपछि नगरको ट्राफिक व्यवस्थापनमा सहजता आउनुका साथै नगरको सुन्दरतासमेत बढ्ने विश्वास लिइएको राजविराज नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष जयनारायण मण्डलले बताए ।

पछिल्लो पटक राजविराज–२ मा व्यवस्थित बसपार्क निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले गरेको टेन्डर अनुसार २०७४ पुस १९ गते सम्झौता भएको थियो । आयोजना राजविराज कार्यालयका प्रमुख सुरेन्द्रकुमार साहका अनुसार भ्याटबाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँमा सिनर्जी बिल्डर्स प्रालि कुलेश्वर काठमाडौँले उक्त ठेक्का लिएको र २०७७ पुस १८ गतभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । भेरिएसनपछि १५ करोड ६० लाखमा बसपार्क निर्माण सम्पन्न भएको छ ।

शिलान्यासमाथि शिलान्यास खेपेको राजविराज बसपार्क सधैँ चुनावी मुद्दा, प्रतिबद्धता र आश्वासनकै सेरोफेरोमा रहँदै आएको थियो । हदबन्दीमा परेको जमिनदारको जग्गा सरकारी नाममा आएपछि २०४४ सालमा उक्त जग्गामा वीरेन्द्र हरित उद्यान निर्माणका लागि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए ।

हरित उद्यान निर्माण हुन नसकेपछि प्रजातन्त्र पुनः स्थापनापछि २०५२ सालमा तत्कालीन नगर प्रमुख शैलेश चौधरीको सक्रियतामा उक्त स्थानमा बसपार्क निर्माण गर्ने भन्दै कार्य अघि बढेको थियो । तर त्यसपछि पनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । बसपार्क निर्माण गर्ने उद्देश्यले चौथो पटक २०७४ पुस १९ गते सम्झौता भई तत्कालीन नगर प्रमुख शम्भुप्रसाद यादव र सहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्माले २०७४ माघ २६ गते गरेको शिलान्यासपछि सहरी विकास मन्त्रालयको बजेट सहयोगमा बसपार्क निर्माण अघि बढेको थियो ।

५ विघा ६ कठा ४ धुर क्षेत्रफलमा निर्माण भएको राजविराज बसपार्कमा ३ वटा ब्लक रहेको छ । जसमा सोधपुछ कक्ष, मुख्य प्रवेशद्वार, टिकट काउन्टर, प्रतीक्षालय, शौचालय, पसल रेस्टुरेन्ट, मिनी मार्केट, गार्ड हाउस, सर्भिस सेन्टर लगायतका संरचना निर्माण गरिएको छ ।

अवधेशकुमार

Link copied successfully