नेपाल हुँदै भारततर्फ जाँदै गर्दा दुई चिनियाँ नागरिक पक्राउ

जेष्ठ १५, २०८२

विनय आजाद

Two Chinese nationals were arrested while traveling to India through Nepal

सिरहा — नेपाल-भारत सीमा क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । धनुषास्थित जटही-पिप्रौन नाका हुँदै भारततर्फ जाँदै गर्दा दुई चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चीनको ल्याओनिङ प्रान्तका ३८ वर्षीय वु हेलङ र आन्हुई हुंघान प्रान्तका ३० वर्षीय शेङ जुन यङ छन् ।

उनीहरूलाई बुधबार बेलुकी जटही-पिप्रौन नाकास्थित २८४/३५ नम्बर सीमा स्तम्भ आसपासबाट भारतीय प्रहरीले पक्राउ गरेको हो ।

भारतीय प्रहरीका अनुसार, पर्यटक भिसामा नेपाल आएका उनीहरू सुरक्षाकर्मीलाई छल्दै भारततर्फ छिर्न खोजेका थिए । उनीहरूमध्ये हेलङ गत २०८१ चैत १ मा र यङ २०८१ फागुन १५ मा नेपाल ओर्लिएको भारतीय प्रहरी जनाएको छ ।

हेलङ आफू ब्लगर भएको बताएका छन् भने यङको मोबाइलबाट ५० भन्दाबढी भारत विरोधी भिडियो सामग्रीहरू भेटिएको भारतीय प्रहरी स्रोतको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँको प्रहरीले विस्तृत अनुसन्धान कार्य गरिरहेको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully