नारायणी अस्पतालमा आवश्यकताभन्दा बढी अक्सिजन प्लान्ट

एक मात्र प्लान्ट सञ्चालनमा, एउटा बन्द, अर्को जडान नै गरिएन 

जेष्ठ १५, २०८२

शंकर आचार्य

Oxygen plant more than required in Narayani Hospital

पर्सा — आवश्यकताभन्दा बढी अक्सिजन प्लान्ट जडान भएपछि वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा एक अक्सिजन प्लान्ट बन्द छ भने अर्को जडान नै नगरी त्यसका उपकरण भण्डारण गरी राखिएको छ । 

अस्पताल परिसरमा हाल लिक्विड बेस अक्सिजन प्लान्ट मात्र सञ्चालनमा रहेको छ । यसबाहेक प्रेसर स्विङ एडसर्प्सन प्लान्ट बन्द छ । अर्को प्रेसर स्विङ एडसर्प्सन प्लान्ट जडान नगरी राखिएको छ । 

अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहका अनुसार, सञ्चालनमा रहेको लिक्विड बेस प्लान्ट अमेरिकी सहयोगमा नेपाल सरकारमार्फत प्राप्त भई जडान भएको हो । यो प्लान्टको टावर एकपटक भरिँदा अस्पताललाई ३ महिनालाई चाहिने अक्सिनज प्राप्त हुन्छ । 

तत्कालीन संघीय सांसद विमल श्रीवास्तवको संसदीय कोषबाट जडान गरिएको प्रेसर स्विङ एडसर्प्सन प्लान्टले भने १ दिनमा १ सय ठूलो सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । अस्पतालको मागभन्दा बढी अक्सिजन उत्पादन गर्ने, विद्युत् अत्यधिक खपत गर्ने र मर्मतसम्भार खर्च पनि बढी भएकाले हाललाई यो प्लान्ट सञ्चालन नगरी बन्द गरिएको डा सिंह बताउँछन् । 

स्वास्थ्य मन्त्रालयबाट प्राप्त ससर्त अनुदानको तेस्रो प्लान्ट पनि प्रेसर स्विङ एडसर्प्सन प्लान्ट नै हो । यसअघि नै २ वटा प्लान्ट जडान भसकेको र एउटैले अस्पतालको माग धानिरहेको अवस्थामा तेस्रो प्लान्ट जडान गरेर त्यसको पनि उपयोग नहुने अवस्था देखिएपछि त्यो प्लान्ट जडान नै नगरी त्यसका उपकरण भण्डारण गरी राखिएको उनले बताए । 

लिक्विड बेस प्लान्टको तुलनामा प्रेसर स्विङ एडसर्प्सन अक्सिजन प्लान्टबाट उत्पादन लागत पनि प्रतिलिटर २ देखि ३ रुपैयाँसम्म महँगो छ । नारायणीमा मात्र नभई दुवै प्लान्ट जडान भएका देशका अधिकांश सरकारी अस्पतालमा लिक्विड बेस प्लान्टलाई नै सञ्चालनमा ल्याइएको उनले बताए । प्रेसर स्विङ एडसर्प्सन प्लान्टको वार्षिक मर्मत लागत मात्रै २५ लाख रुपैयाँ रहेकाले सबै दृष्टिले यो प्लान्टको सञ्चालन र मर्मत अत्यन्त महँगो रहेको उनले बताए । 

हाल अस्पतालको आईसीयू, एनआईसीयू, पीआईसीयू, जेनरल वार्डमा समेत गरी दैनिक ४० देखि ५० सिलिन्डर मात्र अक्सिजनको माग रहेको डा सिंह बताउँछन् । कोरोनाकालमा पर्सादेखि सर्लाहीसम्मका कोरोना संक्रमित भर्ना भएर उपचार सेवा दिएको यो अस्पतालमा त्यतिबेला अक्सिजन प्लान्टको चरम आवश्यकता महसुस गरिएको थियो । दोस्रो कोरोनाकालको मध्यतिर २/३ दिन अस्पतालले अक्सिजनको अभाव समेत झेलेको थियो । दोस्रो कोरोनाकालपछि अस्पतालमा ४ वर्षअघि दुवै प्लान्ट जडान गरिएका हुन् । 

अस्पतालमा आवश्यकताभन्दा बढी अक्सिजन उत्पादन भए पनि अस्पतालले वीरगन्जकै अन्य अस्पताललाई अक्सिजन बिक्री गर्न नपाउने डा सिंह बताउँछन् । ‘सरकारी अस्पतालले यसरी अक्सिजन बिक्री वितरण गर्न पाउँदैन,’ उनले भने, ‘अस्पताल विकास समिति, स्थानीय प्रशासनसमेत सरोकारवाला निकायहरुले साझा प्रयास गर्ने हो भने यो सम्भव पनि हुन सक्छ ।’ 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully