चन्द्रपुर अस्पतालले सुरु गर्‍यो आकस्मिक उद्धार सेवा

जेष्ठ १५, २०८२

शिव पुरी

Chandrapur Hospital started emergency rescue service

रौतहट — रौतहटको चन्द्रनिगाहपुरस्थित निजी चन्द्रपुर अस्पतालले पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका घाइतेको तत्काल उपचारका लागि आकस्मिक उद्धार सेवा सञ्चालन गरेको छ।

सवारी दुर्घटनाको सूचना प्राप्त भएपछि चिकित्सकसहितको टोली दुर्घटनास्थलमा पुगेर घाइतेको उपचारका लागि सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ। अस्पतालले सुरु गरेको यो आकस्मिक उद्धार सेवा मधेस प्रदेशमै सम्भवतः पहिलो भएको बताइएको छ।

अस्पताल प्रमुख डा. सुभाष चौधरीका अनुसार आकस्मिक उद्धार सेवा चन्द्रपुर अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गतको एउटा महत्त्वाकाङ्क्षी कार्यक्रम हो।

‘उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनामा परेका घाइते वा पीडितलाई घटनास्थलमै पुगेर निःशुल्क र निस्वार्थ रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु हो,’ डा. चौधरीले भने, ‘अब सडक दुर्घटनामा परेर उपचारको अभावमा घटनास्थलमै मृत्यु हुने समस्या कम हुनेछ। यसलाई निरन्तरता दिनेछौँ।’

सेवा सुचारु गरिएको जानकारी दिन बिहीबार अस्पतालमा सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई बोलाइएको थियो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले सडक दुर्घटनाको तथ्याङ्क हेर्दा डरलाग्दो रहेको र चन्द्रपुर अस्पतालले सुरु गर्न लागेको आकस्मिक उद्धार सेवा निकै प्रभावकारी हुने बताए।

‘नेपालमै यस्ता सेवा दिएको मलाई थाहा छैन। सडक दुर्घटनामा तत्काल उपचार आवश्यक हुने हुँदा यो निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘कतिपय बिरामीहरू दुर्घटनास्थलमै सामान्य उपचार नपाएर छटपटिइरहेका हुन्छन्।’

डा. चौधरीका अनुसार आकस्मिक उद्धार सेवामा दक्ष चिकित्सक र पारामेडिक्स, अत्यावश्यक मेडिकल उपकरण र आपत्कालीन औषधिहरू, पोर्टेबल अक्सिजन आपूर्ति, फलाम तथा काठ काट्ने उपकरणहरू, चेस्ट ट्युब राख्ने तथा माइनर सर्जरीका सामग्रीहरू सहित एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राखिएको छ।

‘यस्ता सेवा नेपालका प्रत्येक जिल्लामा विस्तार गर्न सकियो भने सडक दुर्घटनाबाट हुने मृत्यु मात्र होइन, देशको ठूलो धनराशिको अनावश्यक खर्च पनि जोगाउन सक्छौँ,’ उनले भने, ‘जीवन बचाउनु नै सबैभन्दा ठूलो सामाजिक लगानी हो।’

नेपाल प्रहरीका अनुसार नेपालभरि दैनिक औसत ७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन्। गत वर्ष मात्र नेपालमा सडक दुर्घटनाबाट २ हजार ३ सय २० जनाको मृत्यु भएको छ भने २८ हजार ८ सय ५६ जना घाइते भएका छन्।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully