सिराहा — भारत–नेपाल सीमावर्ती क्षेत्रको आकाशमा ड्रोन गतिविधि भइरहेको पाइएको छ । सोमबार साँझ साढे ७ बजेको समयमा नेपाल-भारत सीमा क्षेत्रको आकाशमा ड्रोनजस्तै देखिने वस्तु घुमिरहेको देखिएका हुन् ।
कान्तिपुरलाई प्राप्त एक भिडियोमा ड्रोनजस्तै देखिने ती चम्किला १५-२० वटा वस्तुहरू एकैसाथ लहरै आकाशमा उडिरहेको देखिन्छ । भारतीय सुरक्षा निकायले पनि यी वस्तुहरू मधुबनी जिल्लाको जयनगरस्थित कमला सीमा चौकी क्षेत्रमा उडिरहेको देखिएको पुष्टि गरेको छ ।
भारतको सशस्त्र सीमा बलका अनुसार, ती वस्तुहरू नेपाली आकाश हुँदै भारतीय भूभागमा प्रवेश गरेका थिए । भारतीय आकाशमा करिब आधा घण्टासम्म अत्यधिक गतिमा फन्को मारेर फेरि नेपालतिरै ती वस्तुहरू फर्किएको भारतीय प्रहरीको भनाइ छ ।
नेपालका सुरक्षा निकाय भने यसबारे अझै बेखबर छन् । मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
अर्का एक प्रहरी अधिकारीले ती वस्तुहरू बारा जिल्ला हुँदै आएको आफूले जानकारी पाएको बताए । 'यसलाई खोतल्दै जाँदा बारातिरबाट यी वस्तुहरू आएको देखिन्छ, तर धेरै कुरा मलाई पनि थाहा भएन,' उनले भने, 'यसबारे बुझ्ने भरपर्दो प्रविधि पनि हामीसँग छैन ।'
भारतीय सुरक्षा निकाय स्रोतकै अनुसार, ती वस्तुहरू एलन मस्कको स्पेसएक्सले विकसित गरेको ‘स्टारलिंक’ इन्टरनेट सेवाका लागि पृथ्वीको न्यून कक्षमा प्रक्षेपण गरिएका स्याटेलाइटहरूको समूह हुनसक्ने अनुमान पनि छ । ती स्याटेलाइटहरू आफैं अन्तरिक्षमा इन्टरनेट सेवा दिनका लागि पृथ्वीको कक्षमा घुमिरहेका हुन्छन् । यो प्रायः साँझपख वा बिहानपख देखिन्छ । यद्यपि, यस विषयमा भने आधिकारिक पुष्टि हुन सकेको छैन ।
उच्च सुरक्षा अधिकारीहरुका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पनि ती वस्तुहरु के हुन् भनेर बुझ्ने काम भइरहेको छ ।
