बर्दिबासमा झन्डै १५८ किलो गाँजा बरामद

जेष्ठ १४, २०८२

सन्तोष सिंह

About 158 ​​kg of ganja recovered in Bardibas

महोत्तरी — जीपमा ल्याउँदै गरेको ३० पोका गाँजासहित २ जनलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबासबाट प्रहरीले जीपमा गाँजा ल्याउँदै गरेका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्दा जीपभित्र पछाडीको सिटमा सेतो प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरेको खरानी रंगको प्लास्टिकको डोरीले बाँधी लुकाइछिपाइ राखेको अवैध लागुऔषध गाँजा ३० पोकाभित्र जम्मा १५७.९ किलोग्राम फेला परेको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक हस्पिटल अगाडि पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले मध्यराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो  रंगको जीपलाई रोकी जाँच गर्दा जीपभित्र ३० पोका गाँजा बरामद भएको भट्टले बताए ।

अवैध लागुऔषध गाँजा, जीपसहित पक्राउ परेका सर्लाही हरिवन–५ का ३५ वर्षीय लालबाबु साह र हरिवन–३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियारलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully