सिरहाका स्थानीय तहमा एकै वर्ष ७८ करोड बेरुजु

जेष्ठ ८, २०८२

विनय आजाद

780 million in one year at the local level of Siraha

सिरहा — सिरहाका स्थानीय तहमा एकै वर्षमा ७८ करोडबढी रकम बेरुजु कायम भएको छ। महालेखा परीक्षकको कार्यालयले २०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा एकै वर्ष सिरहाका स्थानीय तहमा यति ठूलो मात्रामा बेरुजु देखाएको हो।

यहाँ ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ वटा स्थानीय तह छन् । ती सबै पालिकाको कुल २ हजार १ सय ९५ करोड ८६ लाख ४६ हजार रकमको लेखा परीक्षण गर्दा ७८ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कुन स्थानीय तहको कति बेरुजु ?

महालेखा प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ म सबैभन्दा बढी बेरुजु सिरहा नगरपालिकामा देखिएको छ । सिरहा नगरपालिकाको २ सय ६३ करोड ३५ लाख ८७ हजार रकमको लेखा परीक्षण गर्दा १३ करोड २२ लाख ६३ हजार रुपैयाँ बेरुजु कामय भएको छ ।

विष्णुपुर गाउँपालिका दोश्रो नम्बरमा छ । यहाँ ८४ करोड ६३ लाख ९१ हजारको लेखा परीक्षण गर्दा १२ करोड १२ लाख ६८ हजार रकम बेरुजु रहेको महालेखाको प्रतिवेदन छ। कर्जन्हा नगरपालिकामा १ सय १२ करोड ४६ लाख २४ को लेखा परीक्षण हुँदा ९ करोड ३९ लाख ३३ हजार बेरुजु पाइएको छ ।

नरहा गाउँपालिकामा ७४ करोड ४२ लाख ६८ हजारको लेखा परीक्षण हुँदा ७ करोड ९४ लाख ९२ हजार, सुखीपुर नगरपालिकामा ९७ करोड ८७ लाख ५२ हजारको लेखा परीक्षण हुँदा ५ करोड ७५ लाख १७ हजार बेरुजु देखिएको महालेखा प्रतिवेदनमा छ।

यस्तै, सखुवानन्कारकट्टी गाउँपालिकामा ८२ करोड ८७ लाख ५ हजारको लेखा परीक्षण गर्दा ४ करोड ६४ लाख ७९ हजार बेरुजु पाइएको छ । औरही गाउँपालिकामा ९३ करोड ७४ लाख ५९ हजार परीक्षण हुँदा ४ करोड २५ लाख ७४ हजार बेरुजु देखिएको छ ।

गोलबजार नगरपालिकामा १ सय ९६ करोड ४२ लाख ४६ हजारको लेखा परीक्षण हुँदा ३ करोड ८० लाख २ हजार रुपैयाँ बेरुजु छ । मिर्चैया नगरपालिकामा १ सय ६४ करोड २६ लाख ३० हजारको लेखा परीक्षण हुँदा २ करोड ९५ लाख ८४ हजार बेरुजु देखिएको छ ।

यसैगरी, भगवानपुर गाउँपालिकामा ८० करोड ४५ लाख ४१ हजारको लेखा परीक्षण हुँदा २ करोड ७१ लाख ७३ हजार बेरुजु पाइएको छ भने धनगढीमाई नगरपालिकामा १ सय ५२ करोड २६ लाख २५ हजारको लेखा परीक्षण हुँदा २ करोड ५७ लाख ९९ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ।

लहान नगरपालिकामा २ सय ७२ करोड २७ लाख ९६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड १४ लाख १९ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ । नवराजपुर गाउँपालिकामा ७९ करोड १७ लाख ६९ हजारमा १ करोड ४७ लाख १४ हजार, लक्ष्मीपुर पतारी गाउँपालिकामा १ सय १ करोड ८३ लाख २१ हजारमा १ करोड ३९ लाख ५४ हजार बेरुजु पाइएको छ ।

अर्नमा गाउँपालिकामा ९२ करोड ९५ लाख ८५ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १ करोड ३८ लाख ८९ हजार बेरुजु देखिएको छ । बरियारपट्टी गाउँपालिकामा ९४ करोड १ लाख ३८ हजारमा १ करोड २४ लाख ५९ हजार रुपैयाँ बेरुजु रहेको छ।

जिल्लामा सबैभन्दा कम बेरुजु भने कल्याणपुर नगरपालिकामा देखिएको छ । महालेखा प्रतिवेदन अनुसार, यो नगरपालिकामा १ सय ५२ करोड ८२ लाख ९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ९९ लाख ३० हजार बेरुजु रकम छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully