‘रामचरित्र यादव उर्फ श्री ५ सरकार’ उल्लेख गरी सार्वजनिक पोखरी कब्जा, अख्तियारमा उजुरीपछि निर्णय बाहिरियो
महोतरी — सम्सी गाउँपालिकाको गाउँसभाले सार्वजनिक पोखरी व्यक्तिगत बनाउने निर्णय गरेको पाइएको छ । सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले २०७९ असार १० गते भएको सातौं गाउँ सभाबाट सार्वजनिक १९.५ कठ्ठा क्षेत्रफल भएको पोखरी व्यक्तिगत बनाउने निर्णय गरेको पाइएको हो ।
गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष राजिव यादवले आफ्ना हजुरबुवा रामचरित्र यादवलाई श्री ५ सरकारको नामले चिनाएर उक्त जग्गा आफनो परिवारको हकभोगमा रहेको भन्दै गाउँसभाबाट श्री ५ सरकारको नाममा रहेको गैंडाभेटपुर गाउँ पञ्चायत वडा नं. ७ कित्ता नं. २२ को क्षेत्रफल ०–१९–५ पोखरी जग्गा व्यक्तिगत भएको निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष रामनाथ यादव र वडाध्यक्ष राजिव यादव जनता समाजवादी पार्टीबाट निर्वाचित हुन् । गाउँपालिकाको कार्यालयमा उक्त पोखरी भएको जग्गा आफ्नो परिवारको हकभोगमा भएको प्रमाणित गराउन निवेदन दिइएको थियो । निवेदनलाई गाउँसभाबाट सम्बोधन गराएको गाउँपालिकाका कर्मचारीले बताए ।
निर्णयमा भनिएको छ, ‘गाउँपालिका–४ पुर्वारी टोल भेटपुरस्थित सरकारी पट्टी पोखरी पानीकर सम्बन्धमा साविक गैंडाभेटपुर गाउँ पञ्चायत वडा नं. ५ मा बस्ने जीवन राउतको नाति तिलक रायको छोरा राम चरित्र यादव भन्ने श्री ५ सरकार नामक व्यक्ति हकभोग एवं स्वामित्वमा रहेको र निजको पिता पुर्खाले खनाएको पुर्खौली पोखरी सर्वे नापी हुँदा गैंडाभेटपुर गाउँ पञ्चायत वडा नं. ७ कित्ता नं. २२ को क्षेत्रफल ०–१९–५ पोखरी पानीबहाव राम चरित्र यादवको उर्फ नाम श्री ५ सरकार नाउले नापी भएको गाउँ सभाबाट ठहर गरेको छ । ’
यस्तै निर्णयमा अघि भनिएको छ, ‘पोखरी राम चरित्र यादव भन्ने श्री ५ सरकारको भाई मौजे राय एवं भागवत रायसमेतले भोगी आएपछि उनीहरुको मृत्युपछि उनको शेषपछिका हकदार सरसन्तानहरुले भोगी उपरोक्त पोखरीको साल बसालको पानी कर जिल्ला विकास समितिको कार्यालय महोत्तरीलाई बुझाई आएको र अब यस गाउँपालिकालाई बुझिलिने निर्णय गरेको छ ।’
सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले जिल्ला विकास समितिमा बुझाएको पानी कर रसिदको अधारमा गाउँसभामा प्रस्ताव राखेर निर्णय गरिएको बताए । ‘प्रस्ताव पारित गर्द श्री ५ सरकारको रहेको जानकारी नै भएन,’ अध्यक्ष यादवले भने, ‘हामीले पानी कर बुझाएको रसिदको अधारमा निर्णय गरेका छौं । तर जग्गा सार्वजनिक रहेको जानकारी आएपछि निर्णय कार्यान्वयन गरेनौं । पानी कर गाउँपालिकाले बुझ्ने निर्णय गरेका छौं ।’
गाउँसभाको पोखरी सम्बन्धी निर्णयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर अनुसन्धान भइरहेको सम्सी गाउँपालिकाले जनाएको छ ।
