मरहामा जनप्रतिधिकै संलग्नतामा अवैध उत्खनन

जेष्ठ ५, २०८२

सन्तोष सिंह

Illegal mining in Maraha with the involvement of the public

महोत्तरी — गौशाला नगरपालिकाको मरहा नदीमा अवैध उत्खनन मौलाएको छ । नदी उत्खननको ठेक्का लगाउने र अनुगमन गर्ने निकाय गौशाला नगरपालिकाका जनप्रतिनिधिकै संलग्नतामा मरहामा क्रसर उद्योगलाई अवैध उत्खनन गर्न छुट दिइएको छ । अनुगमनको क्रममा अवैध उत्खनन गर्न प्रयोग भएका सवारी साधनलाई नगरपालिकाले कारबाही नै नगरी उन्मुक्ति दिने गरेको पाइएको छ । 

नदी किनारमा सञ्चालन भइरहेका क्रसर उद्योगहरूले नम्बर प्लेट नै नभएका एक्स्काभेटर र टिपर प्रयोग गरी नदीमा उत्खनन गरिरहेको पाइएको जिल्ला समन्वय समिति महोतरीका प्रमुख सुमनलाल कर्णले बताए । नदी उत्खननको ठेक्का नलागेको अवस्थामा दिनहुँ यहाँका क्रसर उद्योगले नदीमा गहिरो खाल्डो खनी नदीजन्य पदार्थको उत्खनन गरी बिक्री वितरण गरेको पाइएको कर्णले बताए ।

'गुनासो आएपछि अनुगमनको क्रममा मरहा नदीमा अनुमति बिना उत्खनन गरिरहेको पाइयो', कर्णले भने,‘एक्स्काभेटर नै नदेखिने गरी खाल्डो बनाएर उत्खनन भइरहेको थियो । उत्खनन गर्ने एक्स्काभेटरको नम्बर प्लेट नै थिएन । चालकलाई सोधपुछ गर्दा फरार भयो । हामी पुग्दा टिपरहरू लिएर चालकहरू भागेका थिए ।’ नियन्त्रणमा लिएको एक्स्काभेटरबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको कर्णले बताए ।

अनुगमनको क्रममा नियन्त्रणमा लिएको एक्स्काभेटर प्रहरीलाई जिम्मा लगाए पनि प्रहरीले उक्त एक्स्काभेटर क्रसर उद्योगलाई नै जिम्मा लगाएको छ । गौशाला नगरपालिका–१० मराहा खोलामा नम्बर प्लेट नलगाई अवैध उत्खनन गर्न प्रयोग भएको ना २ क २० नम्बरको एक्स्काभेटर कारबाहीका लागि गौशाला नगरपालिकामा लेखि पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उतमसिंह भण्डारीले बताए । जयमा दुर्गा वासिङ सेन्टरले अवैध उत्खननका लागि प्रयोग गरेका सवारीलाई नगरपालिकामा कारबाहीका लागि पठाएपनि जवाफ नआएको प्रहरी भण्डारीले बताए ।

मरहा नदी किनारका क्रसर उद्योगहरूले यहाँका जनप्रतिनिधि र सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर नदीमा १० फिट गहिराईसम्म अवैधरुपमा उत्खनन गरिरहेका छन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully