सिर्सिया सुक्खा बन्दरगाह भन्सारलाई राजस्व लक्ष्य भेट्टाउन सकस 

जेष्ठ ४, २०८२

शंकर आचार्य

Circea Dry Port Customs can find revenue targets

पर्सा — आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहदा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई राजस्व लक्ष्य भेट्टाउन सकस हुँदै गएको छ । पछिल्लो २ महिनामा अघिल्ला महिनाभन्दा पनि कम राजस्व संकलन गरेपछि यो भन्सारले चालु आर्थिक व र्षको राजस्व असुलीको लक्ष्य भेट्टाउन असम्भव प्रायः देखिएको छ । 

वैशाख महिनामा लक्ष्यको ८४ दशमलव ७६ प्रतिशत मात्र राजस्व भन्सारले संकलन गर्न सकेको छ । यस महिनामा ५ अर्ब १२ करोड ६५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब ३५ करोड रुपैयाँ मात्र राजस्व असुली भएको छ ।  

चैत महिनामा यो भन्सारले लक्ष्यको ८४ दशमलव ८९ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो । यो महिनामा ५ अर्ब ३० करोड ४९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४ अर्ब ५० करोड ६९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । 

समग्रमा चालु आवको वैशाख मसान्तसम्ममा ४९ अर्ब २१ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८३ दशमलव ६८ प्रतिशत अर्थात ४१ अर्ब १८ करोड ११ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । 

फागुन र माघ महिनामा यो भन्सारले मासिक लक्ष्यको करिब ९३ प्रतिशत राजस्व असुली गरेको थियो । फागुनमा ५ अर्ब ७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको थियो । माघमा ४ अर्ब ६२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब २९ करोड रुपैयाँ राजस्व असुली भएको थियो । 

चालु आवका लागि यो भन्सारले ६० अर्ब ४ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । वैशाख महिना सम्ममा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत मात्र राजस्व भन्सारले असुली गर्न सकेको छ । 

गत आवको वैशाख महिनासम्मको अवधिमा भने यो भन्सारले ४० अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । तुनलात्मक रूपमा हेर्दा गत आवको वैशाख महिनासम्मको अवधिको तुलनामा चालु आवको वैशाख महिनासम्ममा यो भन्सारले १ अर्ब ४२ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । 

भन्सार प्रमुख धनबहादुर बरुवाल तुलनात्मक रूपमा चैत र वैशाख महिनामा अघिल्ला महिनाभन्दा राजस्व असुलीको लक्ष्य बढेकाले असुली कम देखिन गएको बताउँछन् । लक्ष्य बढे पनि त्यसअनुरूपको आयात निर्यात व्यापार नबढ्दा त्यसले राजस्व असुलीमा प्रत्यक्ष प्रभाव पर्न जानेको उनको भनाइ छ । 

यो भन्सारको राजस्व असुलीमा सबैभन्दा बढी योगदान दिने वस्तुहरूमा फलामजन्य वस्तु, मदिरा र कोइला रहेकोमा यी वस्तुको आयात नै घट्दो क्रममा रहेकाले त्यसले राजस्व असुलीमा नकारात्मक प्रभाव पर्न गएको पनि उनले बताए ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully