डाकनेश्वरीका कर्मचारी निलम्बित भएपछि कार्यालय सन्चालनमै समस्या

जेष्ठ २, २०८२

अवधेशकुमार झा

After the suspension of Dakneswari's employees, there is a problem in the operation of the office

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिका संचालनमा समस्या भएको छ। आर्थिक वर्षको उत्तरार्धमा भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित इन्जिनियर, लेखा अधिकृत, योजना फाँटका अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेसँगै उनीहरू गत बुधवारबाट स्वतः निलम्बित भएका छन् । 

मुख्य प्रशासनिक अधिकारी, प्राविधिक र लेखा तथा योजनाका कर्मचारीहरू एकै पटक निलम्बित भएपछि पालिका संचालनमा समस्या भएको हो ।

एलइडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले गत बुधवार प्रमुख प्रशासकीय अधिकृत यादवसहित सात जना कर्मचारी र एउटा फर्म तथा तिनका संचालकविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

अधिकृत यादवसहित इन्जिनयरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सव-इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परिवार, योजना शाखा मा कार्यरत सहायक पाचौं निकिता चौधरी, जिएस निर्माण सेवा र त्यसका प्रोप्राइटर विजयकुमार यादव समेतका उपर आरोप पत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा नै भुक्तानी लिई दिई हिनामिना गरेको अख्तियारको दाबी छ।

प्रमुख प्रशासकीय अधिकृतसहित प्रमुख फाँटका कर्मचारीहरू निलम्बनमा परेपछि अहिले प्रशासनका अधिकृत रमेश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ। उनलाई दैनिक कार्यालय संचालन गर्ने अधिकारमात्रै छ।

‘आर्थिक कारोबार ठप्प भयो, प्राविधिकहरू पनि निलम्बनमा पर्दा योजना संचालनमा पनि समस्या भयो,’ डाकनेश्वरी नगरपालिकाका नगरप्रमुख राम लखन मल्लाहले भने, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदपूर्तिका लागि आग्रह गरिसकेका छौँ ।’

अवधेशकुमार

Link copied successfully