एलईडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार भएको अख्तियारको दाबी

प्रमुख प्रसासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर

वैशाख ३१, २०८२

अवधेशकुमार झा

Authority's claim of corruption in installation of LED street lights

राजविराज — एलईडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ ।

अधिकृत यादवसहित इन्जिनियरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सव-इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परिवार, योजना शाखामा कार्यरत सहायक पाँचौं निकिता चौधरी, जीएस निर्माण सेवा र प्रोपराइटर विजयकुमार यादव उपर आरोप-पत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यका लागि ठेक्का दिएकामा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भर्पाई बनाई नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा  नै भुक्तानी लिईदिई हिनामिना गरेको  अख्तियारको दाबी छ । 

डाक्नेश्वरी नगरपालिकाले आ.व. २०७८/०७९ मा नगरका सम्पूर्ण वडामा १ सय ४८ थान एलईडी स्ट्रिट लाइट जडानसम्बन्धी ४८ लाख २४ हजार ८ सय ७४ रुपैयाँ  कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधिविपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ र डाक्नेश्वरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदनबमोजिम फिल्डमा नभए नगरेका कामहरूको समेत मूल्याङ्‍कन गरी गराई कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको  दाबी छ ।

लागत अनुमान तयार गर्दा पुष्ट्याइको आधार तथा बिना नम्स अस्वाभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको समेत गरी जम्मा २५ लाख ४ हजार ५ सय ३० रुपैयाँ  सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारको भनाइ छ ।

अवधेशकुमार झा

Link copied successfully