यादव परिवारमाथि कुटपिट प्रकरण : ३ जना पक्राउ, अन्य फरार

वैशाख ३०, २०८२

विद्यानन्द राम

Yadav family assault case: 3 arrested, others absconding

राजविराज — जग्गा विवादमा अदालतबाट न्याय पाएका सप्तरीको बोदेबरसाईन नगरपालिका–१ धनगढीका यादव परिवारमाथि कुटपिट गर्ने तीन पक्राउ परेका छन् । ‘कान्तिपुर’ले सोमबार समाचार सार्वजनिक गरेपछि मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । 

कुटपिटमा संलग्न सोमनीदेवी मण्डल, आरती मण्डल र रिताकुमारी मण्डललाई पक्राउ गरिएको एसपी ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेकी सोमनीदेवी शम्भू मण्डलकी पत्नी हुन् भने आरती स्व.मेदी मण्डलकी बुहारी । तीनै जनालाई मंगलबारै ईलाका प्रहरी कार्यालय बोदेबरसाईनबाट जिल्लामा झिकाइएको छ । ‘ठाडो उजुरीअनुसार कुटपिटमा संलग्न रहेकामध्ये तीन जनालाई नियन्त्रणमा लिइसकेका छौं, अन्यको पनि खोजी हुँदैछ,’ उनले भने, ‘घाउजाँच रिपोर्ट र आउने जाहेरीअनुसार मुद्दा प्रक्रिया अघि बढाउँछौं ।’

पक्राउ परेकासहित ६/७ जनाको समूहले गत बुधबार सुजानदेवी यादवकी छोरीहरु १६ वर्षीया अम्बिकाकुमारी र १४ वर्षीया ललिताकुमारी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी दिदीबहिनीको ७ दिनदेखि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको छ । उनीहरुको टाउकोमा पनि चोट लागेको छ । आर्थिक रुपमा विपन्न रहेकी उनीलाई चिकित्सकले ‘सिटी स्क्यान’ गराउन सुझाव दिए पनि अस्पतालमा उपकरण बिग्रिएकाले ‘सिटी स्क्यान’ गराउन सकेकी छैन् ।  

छिमेकी शम्भू र स्व.मेदीले सप्तरी जिल्ला अदालतमा सुजानदेवीका पति खुसीलाललाई विपक्षी बनाएर ‘खिचोला मेटाई घर उठाई चलन’ सम्बन्धी मुद्दा दायर गरेका थिए । २०७२ जेठ २६ गते सो मुद्दामा फैसला गर्दै न्यायाधीश तेजनारायण पौडेलले कित्ता नम्बर १६७ को ८ धुर गाउँ ब्लक जग्गामा रहेको घर पाताल भए वा उठाएर नलगेसम्म वादी (शम्भू र मेदी) को हक नलाग्ने ठहर गरेका थिए । 

फैसलापछि त्यहाँबाट आफूहरुलाई विस्थापित गर्न पटक-पटक कुटपिट गर्दै धम्की दिँदै आएको सुजानदेवीको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully