सिराहा — मिर्चैया-कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका-७ स्थित बाख्रा बजारमा टिपरको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ । मंगलबार बिहान पौने ६ बजेको समयमा स्थानीय ६५ वर्षीय महेन्द्र महराको टिपरको ठक्करबाट ज्यान गएको हो ।
सोही ठाउँमा रहेको मन्दिरमा पूजा गरेर फर्किरहेका उनलाई सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेको बा प्र–०१–००४ क २९५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । तीव्र गतिको उक्त टिपरको ठक्करका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक तीव्र गतिका कारण टिपर पनि घटनास्थलमै पल्टेको थियो । टिपरका चालक भने फरार भएको र उनको खोजी कार्य तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीले जानकारी दिए ।
ठक्कर दिने टिपर कुन सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेको थियो भन्ने कुरा पनि अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । यो सडकखण्डबाट सिराहा र धनुषाका सिमेन्ट उद्योगले दैनिक १५ सयभन्दा बढी टिपरमा चुनढुंगा लैजाने गरेका छन् ।
टिपरको ठक्करले वृद्धको मृत्यु भएपछि स्थानीयले राजमार्गमा प्रदर्शन समेत गरेका छन् । सिमेन्ट उद्योगी र टिपर व्यवसायीले सर्वसाधारणको ज्यानलाई कुनै महत्त्व नदिएको र सरकारी निकायलाई आर्थिक लेनदेन गरी मिलाएर आतंक मच्चाउँदै आएको आरोप वडाध्यक्ष रामदयाल ठाकुरको छ ।
सिमेन्ट उद्योगका टिपर ओभरलोड हुने र तीव्र गतिमा चल्ने भएका कारण यस क्षेत्रमा वर्षौंदेखि दुर्घटना र धनजनको क्षति हुँदै आएको उनको भनाइ छ । स्थानीयले यसविरुद्ध आन्दोलन गर्दा सिमेन्ट उद्योगले वैकल्पिक बाटो बनाउने सहमति पटकपटक गरे पनि कार्यान्वयन नगरेको उनले बताए ।
'आन्दोलन र दुर्घटना हाम्रा लागि नियति नै बनिसकेको छ, सिमेन्ट उद्योगहरूले पटकपटक वैकल्पिक बाटो बनाउने सहमति गरेका छन्, वैकल्पिक बाटो नबन्दासम्म गाउँ क्षेत्रमा बिस्तारै टिफर चलाउने सहमति पनि भएको छ,' उनले भने, 'तर, कार्यान्वयन कहिल्यै भएन ।'
