महोत्तरीमा बढे सर्पदंशका बिरामी

वैशाख ३०, २०८२

सुनिता बराल

More snakebite patients in Mahottari

महोत्तरी — गर्मी चर्किएसँगै महोत्तरीमा सर्पदंशका बिरामी बढेका छन् । बर्दिबासमा रहेको सर्पदंश उपचार केन्द्रमा अहिले बिरामीको चाप बढेको छ । गत चैतमा १३ जना सर्पशंका बिरामीले उपचार लिएका थिए । वैशाखमा ४७ जनाले उपचार लिइसकेका केन्द्रका उपचार टोली प्रमुख भोला चौधरीले बताए । 

बढ्दो गर्मीले जमिन तात्न थालेपछि सर्प माटोमुनिबाट बाहिर निस्किन थालेकाले  घटना बढ्न थालेको उनी बताउँछन् । सर्पदंशका बिरामीका लागि ९ वटा बेड भए तापनि बिरामीको चाप बढेपछि समस्या हुने गरेको उनको भनाइ छ ।

गोरखनाथ गण जलेश्वरमा दरबन्दी रहेका ५ प्राविधिकको समूहले २४ औं घण्टा सर्पदंशका बिरामिका लागि सेवा दिइरहेका छन् । मधेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहटसँगै सिन्धुली र रामेछापबाट समेत सर्पदंशका बिरामी उपाचारका लागि बर्दिबास आउने गरेका छन् । केन्द्रमा आएका गम्भीर बिरामीलाई बर्दिबासका निजी अस्पतालमा भेल्टिलेटरमा राखेर उपचार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

'सर्पले टोकेपछि के गर्ने/नगर्ने जानकारी नहुँदा टोकेको ठाउँमा पोलेर, चिरेर आउने, डोरी वा साइकलको ट्युबले बाँध्ने, बेसार लगाउने, धामीझाँक्रीकहाँ गएर उपचारमा ढिला आउने समस्या छ,' अर्का प्राविधिक तथा उपचारकर्ता चक्रबहादुर थोकरले बताए ।

सर्पदंशका बिरामीका लागि भेन्टिलेटरसहित सुविधा सम्पन्न केन्द्र बनाउन लागिरहेको सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवाकोटाले बताए । 

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully