किसानका दु:ख- आँप फलेकै छैन, निलगाईले तरकारी सखाप

‘बाँदरलाई त बाँसको घेराबेराले पनि पुग्थ्यो तर निलगाईले त्यसलाई भत्काएरै बाली खाइदिन्छ’

वैशाख २८, २०८२

कमलेश ठाकुर

Sadness of the farmers - mangoes are not blooming, vegetables are destroyed by nilgai

जनकपुरधाम — धनुषा बटेश्वर गाउँपालिका–१ का रामउदगार महतोलाई तरकारी खेतीमा लामो अनुभव छ । उनीसँग उर्वर खेतीयोग्य जमिनको कमी पनि छैन । तर उनी बिस्तारै कृषिकर्मबाट टाढा हुँदै छन् । 

कारण हो, निलगाई । दु:खजिलो गरी लगाएको बाली भित्र्याउने बेला निलगाईले आएर सखाप पारिदिँदा उनी आजित छन् । ‘यहाँका किसान तरकारी र आँप खेती गर्छन् । अन्य बाली यहाँ खासै हुँदैन,’ उनी भन्छन्, ‘तर यसवर्ष आँप फलेकै छैन । तरकारी निलगाईले सखाप पारिदियो ।’ तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आएका रामउदगार हिजोआज ज्यालादारी कामका लागि भौंतारिन थालेका छन् । 

आम्दानीको मुख्य स्रोत तरकारी निलगाईले सखाप पारिदिएपछि अहिले दैनिक ज्यालादारीमा राजमिस्त्रीको काममा लागिरहेको उनी बताउँछन् । समूहमा आउने निलगाईले तरकारी खाइदिने उनको गुनासो छ । लगानी बराबरको पनि आम्दानी नहुने भएपछि अरु काम खोज्नुपरेको उनी बताउँछन् । यस्तै पीडामा छिन्, सोही गाउँकी ६६ वर्षीया सोनावती महतो । घरछेवैमा आएर तरकारी बाली निलगाईले खाइदिने गरेको उनले बताइन् । 

परिवारका सबै सदस्य मिलेर दुई बिघा जमिनमा तरकारी खेती गर्दै आएकी थिइन् । वार्षिक दुई लाख बराबरको तरकारी निलगाई सखाप पार्ने गरेको उनले सुनाइन् । ‘यस क्षेत्रमा बाँदर र निल गाईले १० वर्षदेखि किसानलाई दुःख दिइरहेका छन्,’ उनले भनिन्, ‘डेढ वर्षअघि स्थानीय सरकारले बाँदर त भगाए । तर, निलगाई छँदैछन् । जसले हरेक किसानको बाली एकै रातमा सखाप गर्दिन्छ ।’

Sadness of the farmers - mangoes are not blooming, vegetables are destroyed by nilgai

सोही वडाका हरिसचन्द्र महतो पनि निलगाईबाट पीडित छन् । उनले सात बिघा जमिनमा आँप र तरकारी खेती गरिरहेका छन् । तर, यसवर्ष उनको बारीमा पनि आँप न्यून मात्रामा फलेको र तरकारी निलगाईले हुन दिएको छैन । सानो आँपको रुख भएको आँप निलगाईले खाने गरेको उनले बताए । लागत जति पनि उत्पादन नभएपछि घरमा तरकारी खान समस्या भएको उनले सुनाए । निलगाईबाट आजित भएपछि हालै उनले ५ कठ्ठा जमिनमा तरकारी खेती गर्न चार लाख खर्चेर 'बाउन्ड्री वाल' गरेका छन् ।

‘बाँदर हुँदा बाँसको घेराले पनि पुग्थ्यो । तर, निलगाईले त्यसलाई भत्काएरै बाली खाइदिन्छ,’ उनले भने, ‘निलगाईले त सहनै नसक्ने दुःख दिएको छ ।’

६५ वर्षीया कागतीदेवी पनि निलगाईबाट आजित छिन् । एक साताअघि मात्रै तयार भएको तीन कठ्ठाको घिरौंला निलगाईले खाइदिएको उनले बताइन् । जोगिनका लागि उनले पनि गत वर्ष घरमा तरकारी खानलाई एक लाख खर्चेर काँडे खम्बासहितको घेरा लगाएकी छन् । 

Sadness of the farmers - mangoes are not blooming, vegetables are destroyed by nilgai

‘रातभरि खेत रेखदेख गर्नुपर्ने कुरा भएन,’ उनले भनिन्, ‘जब मध्यरात हुन्छ समूह बनाएर निलगाई आउँछन् र सबै बाली खाइदिन्छन् ।’ सरकारले निलगाई भगाउने कुनै उपाय नखोज्दा उनी सरकारसँग आक्रोशित छिन् ।

वडाध्यक्ष विजयीकुमार महतोले निलगाई र बाँदर यहाँका किसानका लागि ठूलो टाउको दुखाइ बनेको बताए । भारतको मथुराबाट मानिस मगाएर ६ सय ५० बाँदर पक्रेर जंगलमा छाडिएको उनले सुनाए । तर, पनि केही मात्रामा बाँदर र एक सय ५० निलगाई यस वडामा रहेको उनको अनुमान छ । ‘निलगाई नियन्त्रणका लागि घेरबारले मात्रै हुँदैन । न त समात्न नै मिल्छ,' उनी भन्छन् ।

बटेश्वर गाउँपालिका पशु विकास अधिकृत राम अवतार महतोले यहाँका किसान निलगाईबाट समस्यामा परेको बताए । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully