राजविराज — भारत-पाकिस्तान द्वन्द्व चर्किँदै जाँदा सप्तरीका सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारत-नेपाल ओहोरदोहोर गर्नेहरुलाई कडाइका साथ जाँच भइरहेको छ भने उनीहरुको रेकर्ड पनि राख्न थालिएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले सीमा क्षेत्रको निरीक्षण समेत गरेका थिए । सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
‘भारतबाट नेपाल आउनेहरुलाई कडा रुपमा चेकजाँच भइरहेको छ भने उनीहरुको रेकर्ड राख्ने पनि व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरी बल नेपालले पनि भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी संयुक्त रुपमा पेट्रोलिङ गरिरहेको छ ।’
सप्तरीमा ७८ किलोमिटर भारतसँग सिमाना जोडिएको सबै नाकामा बीओपी (बोर्डर आउट पोष्ट)ले कडा रुपमा जाँच गरिरहेको उनले बताए ।
