सिरहा — सिरहाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव छन् ।
प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध बरामद गरेको छ ।
यस्तै, उनीहरूले प्रयोग गरेको दुई थान मोटरसाइकल र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
