वीरगन्जको नयाँ बसपार्कमा जथाभावी पार्किङ हटाउँदै महानगर 

वैशाख २४, २०८२

शंकर आचार्य

Metropolis removing haphazard parking at the new bus park in Birganj

पर्सा — वीरगन्ज महानगरपालिकाको कार्यालयले नयाँ बसपार्कबाट बेवारिसे सवारी हटाएर पार्किङमा कडाइ गर्न थालेको छ । नयाँ बसपार्क क्षेत्रमा देखिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान सुरु गरिएको हो । 

पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी पार्किङ गर्दा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रुहरूबाट आएको थियो ।

पार्किङ अव्यवस्थाले यात्रुहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल थालेको वीरगन्ज महानगरपालिका कार्यालयका जनसम्पर्क अधिकृत नवराज फुँयालले बताए । ‘महानगरपालिकाको टोलीले लामो समयदेखि सञ्चालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुई वटा बसहरूलाई क्रेन लगाएर हटाएको छ,’ उनले भने, ‘ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए ।’ 

यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको उनले बताए । महानगर प्रमुख राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्रु–मैत्री बनाउने दायित्व महानगरले लिएको सिंहलाई उद्धृत गर्दै फुयाँलले बताए ।

‘उहाँले बसपार्कको सञ्चालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गर्नुभएको छ,’ फुयाँलले भने, ‘बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ ।’ 

फुयाँलका अनुसार, फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ । यात्रुहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न विशेष ध्यान दिइएको उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully