क्षीरेश्वरमा प्रमुख-उपप्रमुख टकराव

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Chief-Vice-Chief clash in Kshireshwar

जनकपुर — धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुख र उपप्रमुखबीचको टकराव बढेको छ । नगरप्रमुख सुकदेव यादवले पालिकाको काममा आफूलाई सोधपूछ नगरेको उपप्रमुख रचना श्रेष्ठ माथेमाले आरोप लगाएकी छन् । 

नगर प्रमुख यादवले प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारी र लेखा अधिकृत प्रमोद घिमिरेसंग मिलेर पालिकाको काम मात्र गर्ने गरेको उनको आरोप छ ।

‘नगर प्रमुखकै कारण क्षीरेश्वरनाथ नगरपालिकाको काम ठप्प छ । बेथिति बढेको छ,’ नगर उपप्रमुख माथेमाले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्,‘असार सकिन २ महिना मात्र बाँकी छ । तर, नगर प्रमुखको कारण काम अगाडि बढ्न सकेको छैन ।’ उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा त्यसभन्दा मुनिका कर्मचारीलाई प्रशासकीय अधिकृत बनाएर राखेकोमा पनि आपत्ति जनाइन् । 

विकास निर्माणको काम गर्न गठन गरिने उपभोक्ता समितिको बैठकमा नगर प्रमुखलाई अनिवार्य उपस्थित गराउनुपर्ने परिपत्र नै गरिएको भन्दै उपप्रमुख माथेमाले वडा–वडामा गठन हुनुपर्ने उपभोक्ता समिति नगर प्रमुख यादवले एकैथलोमा गरेर प्रक्रिया मिचेको बताइन् । ‘उपभोक्ता समितिबाट गरिने काम नगर प्रमुखनिकट वडाध्यक्षलाई मात्र दिइएको छ,’ उनले भनिन्,‘हामीलाई माइनस गरेर नगरप्रमुख काम गरिरहनु भएको छ । नगरपालिकालाई उहाँले अप्ठ्यारो अवस्थामा पुर्‍याउनु भएको छ ।’

क्षीरेश्वरनाथ नगरपालिकाका पूर्वप्रमुख एवं कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले धनुषाको क्षीरेश्वरनाथ, नगराईन र लक्ष्मीनिया पालिकामा देखिएको समस्या समाधानका लागि कांग्रेस–एमालेबीच बनेको राजनीति संयन्त्रणमा छलफल भएको जानकारी दिए । उनले क्षीरेश्वरनाथ नगरपालिकामा एमालेका नगरप्रमुख भएकाले जानीजानी कांग्रेसका जनप्रतिनीधिलाई छेउ लगाउने काम गरेको बताए । 

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर-४ का अध्यक्ष जगदीश यादवले चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पनि नगरप्रमुखले योजनाको रातो किताव वडाहरुमा नपठाएको बताए । ‘हाम्रा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देशमै उदाहरणीय छन् । उनी कार्यालयमा कहिल्यै देखापर्दैनन्,’ वडाध्यक्ष यादवले भने,‘चेकमा सही गर्नुपर्ने छ भने मात्र उनी कार्यालय आउँछन् । नभए अरु समय मोबाइल स्वीचअफ गरेर अन्तै बस्छन् ।’ 

कान्तिपुर

Link copied successfully