जग्गाको भाडा वार्षिक ५० लाख लिने गुठीको पत्रले प्रदेश सरकार आक्रोशित
जनकपुर — जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा गुठी संस्थान तगारो बनेको छ । रंगशालाको डीपीआर तयार पारेर निर्माण प्रक्रियामा रहेको मधेश प्रदेश सरकारलाई गुठी संस्थानले पत्र लेखेर जग्गाको चर्को भाडा माग गरेको छ ।
जनकपुर–१४ रजौलस्थित गुठी संस्थानको १७ बिघा जग्गामा मधेश प्रदेश सरकारले आफ्नै लगानीमा रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने तयारी थालेको छ । गुठीको उक्त जग्गा २५ वर्षका लागि लिजमा लिएर रंगशालाको निर्माणको काम यसै वर्षदेखि थाल्ने प्रदेश सरकारको योजना छ ।
तर, गुठी संस्थानले गत साता मधेश प्रदेश सरकारलाई पत्र लेख्दै जग्गा लिजमा दिँदा वार्षिक ४९ लाख ९० हजार रुपैयाँ तिनुपर्ने र प्रत्येक वर्ष लिज रकम १० प्रतिशतले वृद्धि गर्नुपर्ने माग गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले रंगशाला निर्माणका लागि प्रयोग हुने जग्गाको लिज रकम गुठी संस्थानले चर्को तोकेकोमा आक्रोश पोखे । उनले रंगशाला निर्माणमा गुठी संस्थानको पछिल्लो पत्रले बाधा पुर्याउने काम गरेको बताए ।
‘वार्षिक करिब ५० लाख रुपैयाँ लिज भाडा मागिएको छ,’ मधेश प्रदेशका खेलकुद मन्त्री जयसवालले कान्तिपुरसँग भने,‘वार्षिक यतिधेरै पैसा लिजमा नै खर्चिनुपर्ने अवस्थामा हामी छैनौं । रंगशाला निर्माण खेल र खेलाडीको भविष्य, अभ्यास र प्रदर्शनसँग जोडिएकाले गुठी संस्थान यस मामिलामा लचक हुनुपर्छ ।’
रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालाको जग्गा लिजमा लिने प्रक्रियामा गत साता काठमाडौंस्थित गुठी संस्थानको मुख्यालय पुगेका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहसँग भने विवाद नै भएको थियो । ‘रंगशाला बनाउन हामीलाई चौतर्फी दबाब छ,’ जनकपुरका नगर प्रमुख साहले भने,‘तर, गुठीले जग्गा हस्तान्तरणमा आलटाल गर्दै आएको छ । लिज रकम चर्को भयो भनेर भन्दा मेरो चर्काचर्की नै परेको थियो । मैले त्यहीबेला मुख्यमन्त्री सतिशकुमार सिंहलाई फोन गरेर गुठीको नियतबारे प्रष्ट पारेको थिएँ ।’
यसअघि, गुठी संस्थानले वार्षिक ९ लाख रुपैयाँमा राष्ट्रिय खेलकुद परिषद्सँग उक्त जग्गा लिजमा दिने सम्झौता गरेको थियो । खेलकुद मन्त्री जयसवालले गुठी संस्थानको उक्त जग्गा मधेश प्रदेश सरकारले नै लिजमा लिएर रंगशालाको निर्माण थाल्ने तयारीमा रहेको बताए ।
तर, गुठी संस्थानको चर्को लिज भाडाले समस्या थपिएको बताए । ‘गुठी कानुन बनाउने अधिकार प्रदेश सरकारकै छ,’ खेलकुद मन्त्री जयसवालले भने,‘भाडा चर्को भयो भने गुठी संस्थानलाई पत्र लेख्दै छौं । सुनुवाइ नभए प्रदेश सरकारले गुठी विधेयक ल्याएर भए पनि त्यो जग्गा आफ्नो अधिनमा ल्याएर रंगशाला बनाएरै छाड्ने छ ।’
रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशाला बनाइने भनिएको गुठीको जग्गामा हाल क्रिकेट मैदान छ । त्यो क्रिकेट मैदानमा तीनवटा ग्रास पीच बनेका छन् । यसअघि, जय ट्रफीको केही खेल यही मैदानमा खेलाइएको थियो । मेयर कप, सहिद क्रिकेट प्रतियोगितालगायतका ठूला खेल यहाँ खेलाइसकिएको छ । रामजानकी प्रस्तावित रंगशालामा क्रिकेट, फुटबल, हक्कीको छुट्टाछुट्टै स्टेडियम, इन्डोर कभर्डहल, कब्बडी, खोखो र कुस्ती खेलको ट्रेनिङ सेन्टर निर्माण गर्ने डिपीआर प्रदेश सरकारले तयार पारेको छ ।
