सिरहा — कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल गर्ने परीक्षा बोर्ड, लहानका प्रमुख धनपति भेटवाल र शाखा अधिकृत चन्द्रदेव यादव केन्द्र तानिएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले उनीहरूलाई केन्द्र तानेको हो।
परीक्षा केन्द्र निर्धारण गर्न अवैध रकम असुली गरेको विषयमा समाचार आएपछि गत सोमबार नै उनीहरूलाई केन्द्र झिकाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। उनीहरूविरुद्ध विस्तृत छानबिन पनि सुरु भएको शर्माले जानकारी दिएका छन्।
‘समाचार आएपछि यसबारे मैले बुझेर दुवैलाई फिर्ता बोलाएको छु,’ शर्माले भने, ‘उनीहरूविरुद्ध विस्तृत छानबिन भइरहेको छ, बदमासी गर्नेहरू कानुन बमोजिम कारबाहीमा पर्छन्।’
यस्तै, बोर्डले लहानस्थित कार्यालयमा भेटवालको ठाउँमा नयाँ प्रमुखका रूपमा संजय पाण्डेलाई पठाएको छ। पाण्डेलाई मंगलबार लहानको प्रमुखको जिम्मेवारी दिएर पठाइएको शर्माले जानकारी दिए।
सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा गरी पाँच जिल्ला हेर्ने यो कार्यालयले विद्यालयपिच्छे ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुलेको र भनेकै ठाउँमा केन्द्र पारिदिएको तथ्य कान्तिपुरले सार्वजनिक गरेको थियो।
