अस्पतालभित्रको फार्मेसी पनि अवैध, मिर्चैया नगरपालिकाले रसिद नियन्त्रणमा लिँदै थाल्यो अनुसन्धान
सिरहा — सिरहाको मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मनकामना मिड इस्टर्न अस्पतालमा मंगलबार बिहानै मिर्चैया नगरपालिकाको अनुगमन टोली पुग्यो। अनुगमन टोलीले अस्पतालका चिकित्सक कर्मचारीसँग कागजात माग्यो। तर, उनीहरू सहजै दिन तयार भएनन्।
अनुगमन टोलीको नेतृत्व गरिरहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालले ‘सबैलाई कारबाही हुने’ चेतावनी दिएपछि बल्ल अस्पतालले अनुगमन टोलीलाई कागजातहरू देखायो। अनुगमन टोलीले त्यसक्रममा फेला पारेका तथ्यहरू छक्क पार्ने खालका छन्।
यो अस्पतालले बिरामीसँग औषधिदेखि उपचारसम्मका नाममा मनलाग्दी रकम असुल्दै ठगी गर्दै आएको तथ्यहरू भेटिएका छन्। कतिसम्म भने यो अस्पतालले औषधिमा वास्तविक मूल्यभन्दा २० गुणासम्म बढी रकम लिने गरेको भेटिएको छ।
मिर्चैया नगरपालिका स्वामित्वको मिर्चैया अस्पतालका अनुसार, एसिलक सुइको वास्तविक मूल्य पाँच रुपैयाँ हो। तर, यो अस्पतालले यो औषधि एक सय रुपैयाँमा बेच्ने गरेको भेटिएको छ। यो भनेको औषधिको वास्तविक मूल्यभन्दा २० गुणा बढी हो।
यसैगरी, पच्चीस रुपैयाँ वास्तविक मूल्य भएको फिक्स टेप यो अस्पतालले एक सयमा बेच्ने गरेको पाइएको छ। पचास रुपैयाँ मूल्यको आइभी सेट एक सय पचासमा, पचपन्न रुपैयाँको ५ सय एमएलको आरएल पानी दुई सय रुपैयाँमा बेचेको भेटिएको मिर्चैया नगरपालिकाले जनाएको छ।
यस्तै, चालिस रुपैयाँको केट्रोल सुइ एक सयमा, ९ रुपैयाँको डाइलोना सुइ पचासमा, २० रुपैयाँ २५ पैसाको टीटी सुइ एक सयमा, ४५ रुपैयाँको ५ सय एमएलको एनएस पानी एक सयमा, १० रुपैयाँको १० एमएलको सिरिन्ज २० रुपैयाँमा, ५ रुपैयाँको ५ एमएलको सिरिन्ज १० रुपैयाँमा बेचेको पाइएको छ।
यसैगरी, सर्जिकल ग्लोभ्सको वास्तविक मूल्य चालिस रुपैयाँ भए पनि यो अस्पतालले ८० रुपैयाँमा बेच्दै आएको भेटिएको छ। यसैगरी, क्रेप ब्यान्डेजको पचासदेखि ६० रुपैयाँसम्म पर्ने भए पनि यहाँ पाँच सयसम्ममा बेचिएको छ।
सूचर प्रोलिनको वास्तविक मूल्य २ सय ३० देखि ३ सय ५० रुपैयाँसम्म हो। तर, यो अस्पतालले बिरामीसँग ७ सय ५० रुपैयाँसम्म असुलेको पाइएको छ। आइभी क्यानुलाको ३५ देखि ६० रुपैयाँ मूल्य रहेकोमा यहाँ २ सय ५० रुपैयाँ बिरामीसँग असुली गरिएको छ।
जबकि, औषधिमा उल्लेख रहने वास्तविक मूल्यमा पनि थप छुट गरेर बेच्नुपर्ने प्रावधान रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजनकुमार साहको भनाइ छ। औषधिको मूल्य भने नेपालीको सामान्यतया एकै खालको हुने र भारत वा अन्य देशमा उत्पादित भए पनि थोरै मूल्य घटबढ हुने उनले बताए।
औषधिमा यसरी मनलाग्दी असुली गरेको यो अस्पतालले उपचारका नाममा पनि अनावश्यक शीर्षकहरूमा बिरामीसँग मनपरी रूपमा रकम असुलेको भेटिएको छ। यो अस्पतालले एउटै टाका लगाउन बिरामीसँग २ सय १५ रुपैयाँसम्मका दरले असुली गरेको पाइएको छ।
यस्तै, चिकित्सक शुल्कका नाममा १ हजार, त्यसपछि थप अब्जरभेसन शुल्क भनेर १ हजार, जाँचको नाम नै नखोली ल्याब जाँचका नाममा ४–५ हजारसम्म बिरामीसँग असुली भएको भेटिएको स्वास्थ्य शाखा प्रमुख साहले बताए।
यतिमात्र होइन, अस्पतालभित्र सञ्चालित विकास मेडिकल हल नामक यो फार्मेसी पनि अवैध रहेको खुलेको छ। यो अस्पताल मिर्चैया नगरपालिका–७ मा पर्ने भए पनि फार्मेसी भने मिर्चैया–६ मा दर्ता रहेको मिर्चैया नगरपालिकाले जनाएको छ।
यसैगरी, फार्मेसीकै रसिदमा अस्पतालको सेवा शुल्कसमेत उल्लेख गरेर बिरामीलाई दिने गरिएको पनि भेटिएको छ। यसरी फार्मेसीको रसिदमा त्यसबाहेकको कुनै शुल्क जोड्नु गैरकानुनी हो। राजस्व छल्ने उद्देश्यले फर्जी रसिद प्रयोग गर्ने गरिएको हुनसक्ने आशंका पनि नगरपालिकाको छ।
अस्पतालमा ठगिएका एक बिरामीले नगरपालिकामा प्रमाणसहित गरेको उजुरीका आधारमा पुगेको अनुगमन टोलीले अस्पतालबाट झन्डै २ सयजति काटिएका रसिद तथा अन्य कागजातहरू नियन्त्रणमा लिएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले बताए।
‘नेपाल सरकारले तोकेकोभन्दा एक पैसा बढी लिन पाइँदैन, तर यो अस्पतालले औषधि र उपचारका नाममा जसरी असुली गरेको छ, यो गैरकानुनी हो,’ उनले कान्तिपुरसँग भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ, अस्पताल र सञ्चालक कारबाहीमा पर्छन्।’
अस्पतालका सञ्चालक सुधीर श्रेष्ठले भने बिरामीले आफूहरूसँग छुट माग्ने गरेकोले यसरी जोडेर रकम लिने गरेको स्वीकार गरेका छन्। ‘हामीसँग बिरामीले छुट माग्छन्, अनि हामीले यसरी जोड्छौँ,’ उनले भने, ‘अरू धेरै केही भन्दिनँ, जे मन लाग्छ लेख्नुस्।’
