पर्सा — डेढ साताअघि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि अधिकांश पालिकामा अभियान सञ्चालन हुन सकेन । केही पालिकाले अभियान आंशिक रुपमा सञ्चालन गरेका छन् । अधिकांशले सञ्चालन नै गर्न सकेका छैनन् ।
जिल्ला सदरमुकाम वीरगन्ज महानगरपालिकामा खुल्ला रुपमा अभियान सञ्चालन नभए पनि केही विद्यालयले आन्तरिक रुपमा विद्यार्थी भर्ना गरिरहेको महानगर स्रोतले बताएको छ । ‘केही विद्यालयले आन्तरिक रुपमा विद्यार्थी भर्ना गरेका छन्,’ स्रोतले भन्यो, ‘अघिल्ला वर्षजस्तो खुल्ला रुपमा अभियान नै चलाएर घरदैलो भने हाल गरिएको छैन ।’
ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले आइतबारदेखि आफ्नो पालिकामा अभियान चलाइएको बताए । पालिकाकै जनशक्ति परिचालन गरेर अभियान चलाएको र केही विद्यार्थी भर्नासमेत गराएको उनको भनाइ छ ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले आफ्नो पालिकामा अभियान सञ्चालन हुन नसकेको बताए । ‘अभियान चलाउने प्रयास मैले गरेको हो,’ उनले भने, ‘तर विद्यालयमा शिक्षक नै नभएपछि अभियान चलाउन सकिएन ।’
वैशाख ७ गते वीरगन्ज महानगरपालिकाको कार्यालयमा सम्पन्न जिल्लाका पालिका प्रमुखहरुको बैठकमा वैशाख ८ देखि १५ गतेसम्म जिल्लाभर भर्ना अभियान सञ्चालन गराउन पालिका प्रमुखहरु एकमत भएका थिए । बैठकले तत्काल भर्ना अभियान चलाउन आआफ्ना पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।
जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हरि राउतले पूर्व प्रतिबद्धताअनुरुप अधिकांश पालिकाले अभियान सञ्चालन गर्न नसकेको बताए । ठोरी गाउँपालिकाले आफ्नै जनशक्ति प्रयोग गरेर अभियान चलाएकाले त्यो सम्भव भएको उनको भनाइ छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले अभियान सञ्चालन गर्न उत्प्रेरक गीत बनाएको जानकारी आफूले पाएको उनले बताए ।
