पर्सा — चार महिनादेखि बिग्रिएर थन्किएको नारायणी अस्पतालको सिटी स्क्यान मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ साइसेन्स प्रालिले ल्याएको उपकरण पनि विद्युत अर्थिङ समस्याका कारण उपयोगमै आउन नसकेको हो । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार ४ महिनाअघि ‘पिक्चर ट्युब’ खराब भएर मेसिन थन्किएको थियो ।
चार करोड रुपैयाँ लागतको उक्त मेसिन २०७८/७९ मा अस्पतालमा भित्रिएको थियो । प्रायः ४/५ वर्ष प्रयोग भएपछि त्यसको ‘पिक्चर ट्युब’ खराब हुने गरेको उनले बताए । चीनको युनाइटेड इमर्जिङ कम्पनीले उत्पादन गरेको उक्त मेसिन अस्पताल आफैले खरिद नगरी टेन्डर प्रक्रियाबाट खरिद गरेको हो । यस्तो अवस्थामा बिग्रिएको उपकरण पनि आपूर्तिकर्ता कम्पनीमार्फत नै ल्याइएको उनले बताए ।
आपूर्तिकर्ता कम्पनीसँग ‘कम्प्रिहेन्सिभ मेन्टिनेन्स एग्रिमेन्ट’ भएकाले कम्पनी मार्फत नै बिग्रिएको उपकरणको ठाउँमा नयाँ उपकरण ल्याइएको उनले बताए । तर त्यो उपकरण पनि प्राविधिक समस्याको कारण प्रयोगमै आउन नसकेको डा. सिंह बताउँछन् । उनले समस्या समाधानको प्रयास भएको र २/३ दिनभित्रै मेसिन सञ्चालनमा आउन सक्ने सम्भावना रहेको बताए ।
सरकारी अस्पतालमा ३ हजारदेखि ५ हजार ५ सय रुपैयाँमा यो मेसिनबाट सेवा पाइने गरेकामा बिग्रिएपछि बिरामी अस्पतालबाहिर ४ हजार ३ सयदेखि ८ हजार ५ सय रुपैयाँसम्म खर्च गरेर परीक्षण गराउनुपरेको छ ।
