पर्सा — भारतको एक आर्केष्ट्रा (व्यावसायिक नृत्य कम्पनी) मा कष्टकर जीवन बिताइरहेका चार नेपाली युवा युवतीको उद्धार गरिएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृह र पर्सा प्रहरीको संयुक्त टोलीले उनीहरुलाई शनिबार उद्धार गरी स्वदेश फिर्ता ल्याएको हो ।
फिर्ता ल्याइएकाहरूमा चार युवती र एक युवक छन् । भारतको बिहार मोतिहारी जिल्ला छौडादानो थाना अन्तर्गत कठनौतिया मठस्थित जानकी म्युजिकल आर्केष्ट्रा ग्रुपबाट उनीहरूलाई उद्धार गरी स्वदेश फिर्ता ल्याइएको हो ।
माइती नेपाल आवधिक गृह वीरगन्जकी प्रमुख गोमा पौडेलका अनुसार, माइती नेपाल केन्द्रीय कार्यालयले दिल्लीस्थित नेपाली दुतावाससंगको समन्वयमा उक्त आर्केष्ट्रामा रहेकी नुवाकोटकी एक १८ वर्षीया युवतीको उद्धारको पहल गरेको थियो । उनी एक महिना अघि त्यहाँ पुगेकी थिइन् ।
आफू नारकीय जीवन भोगी रहेको सूचनासहित ती युवतीले उद्धारका लागि आग्रह गरेपछि माइती नेपालले उनको उद्धारको अग्रसरता देखाएको हो । नेपालबाट उद्धार टोली पुग्दा त्यहा ती युवती मात्र नभई थप २ नेपाली युवती र अर्का एक नेपाली युवकले समेत आफूहरूलाई यातना दिएर जबरजस्ती राखिएकाले उद्धारका लागि आग्रह गरेपछि चारै जनालाई उद्धार गरी शनिबार राति वीरगन्ज ल्याइएको हो ।
उद्धार गरिएका अन्यमा चितवनका २१ र २२ वर्षीया दुई युवती छन् भने सिरहाका २५ वर्षीय एक युवक छन् । २२ वर्षीया चितवनकी युवती दुई साताअघि र २१ वर्षीया युवती तथा २५ वर्षीय युवक भने १ महिना अघि भारत पुगेका थिए।
उक्त अर्केष्टाका सन्चालक भारतीय नागरिक टिंकु र उनकी पत्नी जानकी जैसवाल हुन् । जानकीको माइती नेपालको सुनसरी जिल्ला हो । चौधरी थरकी उनले टिंकुसंग विवाह गरेर भारतमै डेढ दशक देखि अर्केष्ट्रा चलाएर बसेकी छिन् ।
अर्केष्ट्रामा नृत्य गर्ने युवतीहरू खोज्न उनी काठमाडौंसम्म पुग्ने गरेकी छिन् । हाल उद्धार गरिएका चार जनालाई पनि उनले काठमाडौं पुगेर आकर्षक कमाईको प्रलोभन दिएर भारत लगेकी हुन् । एउटा सट्टा (अनुबन्ध) को नृत्य गर्दा भारु २ हजार ५ सय रुपैयाँ पाइने, खान र बस्न निःशुल्क सुविधा रहेको आदि प्रलोभन दिएर जानकीले उनीहरूलाई भारत लगेपनि तय भए अनुसारको कुनै पनि सेवा सुविधा नपाएको भन्दै उद्धार गरिएका पिडित नेपाली युवाहरूले आफ्नो पीडा सुनाएको पौडेलले बताइन् ।
‘दैनिक चार वटासम्म सट्टामा गएर नृत्यु गर्नु पर्ने, १ महिनासम्म काम गर्दा पनि एक पैसा पनि पारिश्रमिक नपाएको पीडा उनीहरूले सुनाए,’ पौडेल भन्छिन्, ‘खोर जस्तो सानो कोठामा आधा दर्जन युवा युवतीहरूलाई कोचेर राखिएको रहेछ, त्यहाँ उनीहरूले राम्रोसंग सुत्न र खान पनि पाएका रहेनछन् ।’ नृत्य गर्न जाँदा दर्शकबाट समेत अभद्र र अश्लिल व्यवहार खेप्नु परेको पीडा उनीहरूले पोखेका छन् ।
जानकीले उनीहरूको बाहिरी व्यक्ति वा नेपालमा आफन्तसंग सम्पर्क कायम नहोस् भनेर कोठामा थुनेर राख्ने, फोन खोस्ने, बजार जाँदा आफूसंगै ल्याउने र लग्ने गरेको पाइएको पौडेलले बताइन् । आफूहरू एक युवतीको उद्धार गर्न जादा थप तीन नेपाली युवायुवतीले आफूहरूको पनि उद्धार गरी दिनु पर्यो भनी आग्रह गरेपछि आफू चकित भएको उनले बताइन् ।
‘बिगतमा यस्ता उद्धारका घटनामा नेपाली युवा युवतीहरू सकेसम्म फर्कन मान्थेनन,’ उनले भनिन्, ‘तर यस पटक आफूहरूको पनि उद्धार गरिदिनु पर्यो भनेर उनीहरूले हामीलाई आग्रह गर्दा उनीहरूले चर्को पीडा र यातना भोगेको प्रष्ट बुझियो ।’
उद्धार गरीएका चारै जनालाई शनिबार राति माइती नेपालको आवधिक गृहमा आश्रय दिइएको थियो । उनीहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालको महिला तथा बालबालिका सेलमा ल्याई प्रहरीले आफ्नो कानूनी प्रक्रिया अघि बढाएको छ । उनीहरूको अभिभावकलाई सम्पर्क गरी जिम्मा लगाउने प्रयास भइरहेको छ । चितवनका दुई युवतीलाई भने माइती नेपाल केन्द्रीय कार्यालयमा लगेर आश्रय दिने तयारी भइरहेको पौडेलले बताइन् ।
