रौतहट — रौतहटको बृन्दावन नगरपालिकाका एक बालकलाई टिकटक बनाउन बोलाई नजिकको चांदी नदीमा लगेर गोली हानी हत्या गरेको पाइएको छ । प्रहरीले हत्यामा संलग्न चारजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
वृन्दावन –७ का १४ वर्षीय कृष्णप्रसाद यादवलाई टिकटक बनाउन भनेर घरबाट बोलाएर चांदी नदीमा लगेर गोली हानीहत्या गरेको अवस्थामा शव बिहीबार फेला पारेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा कृष्णलाई टिकटक बनाउने भन्दै गाउँकै नागेन्द्र सहनीले बोलाएका पाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । उनका अनुसार गएको शनिबार दिउँसो कृष्ण घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर निस्केका थिए । राति नआएपछि परिवारले खोजतलास गरे । दुई दिनसम्म फेला नपरे पछि परिवारका सदस्यले वैशाख ९ गते ईलाका प्रहरी कार्यालय गरुडामा खोजतलासको निवेदन दिएका थिए ।
प्रहरीका अनुसार घरबाट निस्केकै दिन कृष्णलाई नागेन्द्रले मोबाइलमा फोन गरी गरुडा–८ स्थित चांदी नदीमा बोलाए । उनी जाँदै थिए । गढीमाई मन्दिर नजिक पुगेपछि कृष्णलाई नागेन्द्र सहनी र अर्का साधु भनेर चिनिने नागेन्द्र सहनीले नियन्त्रणमा लिई मोबाइल खोसेर मोटरसाइकलको बिचमा राखी नदी तर्फ लगे । नदीमा पुग्नासाथ साधु भन्ने नागेन्द्रले कृष्णलाई धकेलेर लडाइदिन्छन् । र अर्का नागेन्द्रले उनको छाती र पेटमा २ राउण्ड गोली हान्छन् । कृष्ण त्यही ढल्छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
पुरानो रिसइबी साध्न टिकटकलाई माध्यम बनाएर बोलाई हत्या गरेको एसपी घिमिरले जानकारी दिए । एसपी घिमिरेका अनुसार हत्यापछि नागेन्द्रद्वयले मृतकको मोटरसाइकल प्रयोग गरी दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाए । र मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको एक दिनपछि गौर नगरपालिका–४ का विकास पटेललाई ५ हजारमा बेचेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।
मोटरसाइकल टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरुले गौरमा रहेको एक ग्यारेजमा पुर्याएका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्नेक्रममा बृन्दावनकै नागेन्द्र सहनी, अर्का साधु भनेर चिनिने नागेन्द्र, मृतक कृष्णको मोटरसाइकल किनेर ग्यारेजमा लुकाउने गौर नगरपालिका–४ का विकास पटेल र वडा नम्बर ८ का मोटरसाइकल ग्यारेज संचालक अनिल साहलाई पक्राउ गरिएको एसपी घिमिरले जानकारी दिए ।
जिल्ला प्रहरीका अनुसार केही समयअघि कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो । कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका थिए । तीन वर्षअघि कृष्णको बुबा सुरजराय यादवलाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अदालतमा मुद्दा चलिरहेकोले धर्मेन्द्र हालसम्म फरार छन् । यही कारण पनि दुवै परिवारबीच रिसईबी बनेको प्रहरीको ठम्याइ छ । प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई प्रहरीले कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थपेको छ ।
