बेपत्ता छोराको खोजीमा डेढ वर्षदेखि भौँतारिइरहेकी अनितादेवी

वैशाख १३, २०८२

विद्यानन्द राम

Anitadevi has been wandering for one and a half years in search of her missing son

राजविराज — होटेलमा काम लगाइदिन्छु भन्दै काठमाडौं लगिएका सप्तरीको खडक नगरपालिका–५ खोजपुरका १५ वर्षीय सरोजकुमार राम डेढ वर्षअघि नै बेपत्ता भए । स्थानीय सञ्जय साहका ज्वाइँ पर्ने जनकपुरका नारायण साहले ०७९ भदौमा उनलाई काठमाडौं लगेका थिए । 

सरोज काम सुरु गरेको ६ महिनापछि एक पटक घर पनि फर्किए । १५ दिन घरमा बसेका सरोजलाई नारायणले फोन गरेर फेरि बोलाए । काठमाडौं पुगेको दुई/तीन महिनासम्म नारायणकै मोबाइलबाट सरोजसँग कुराकानी पनि भयो । तर, पछि अचानक नारायणले कुराकानी गराउन अनाकानी गर्न थालेको सरोजकी ४५ वर्षीया आमा अनितादेवी बताउँछिन् ।

‘दुई महिनासम्म नारायणलाई सयौं पटक फोन गरे तर कुरा गराउनै मान्दैनथ्यो, पछि छोरा होटेलबाट भागिसक्यो भन्छन्,’ उनले भनिन्, ‘तरकारी किन्न पठाउँदा त्यहीँबाट भागेको अरे, तर डेढ वर्षसम्म छोरा घर फर्केकै छैन ।’

छोराको खोजी गरिदिन नारायणलाई पटक–पटक आग्रह गर्दा बेवास्ता गर्दै आएको अनिताले गुनासो गरिन् । ‘पछि नारायण भागी–भागी हिँड्न थाले’ उनले भनिन्, ‘अहिले डेढ वर्षदेखि छोराको खोजीमा भौँतारिँदै छु तर छोरालाई फेला पार्न सकेको छैन ।’

Anitadevi has been wandering for one and a half years in search of her missing sonसरोजकुमार राम

उनले कक्षा ६ मा पढिरहँदा नै सरोजलाई काठमाडौं लगिएको बताइन् । ‘सानोतिनो काम गर्छन् र होटेलको काम पनि सिक्छन् भनेर बुझाएपछि म छोरालाई पठाउन तयार भएकी थिइन्,’ अनिताले भनिन्, ‘तर, उसको मनमा पाप छ भन्ने बुझ्नै सकिनँ ।’  

मंगलबार पनि उनी राजविराजमा छोराको खोजीका लागि जन्म दर्ता र फोटो बोकेर भौँतारिँदै थिइन् । ‘छोराको खोजीमा सहयोग गरिदिनु हुनका लागि सीडिओ साहेबसँग आग्रह गरेँ,’ उनले भनिन्, ‘उहाँले सबै कुरा डायरीमा टिप्नुभयो ।’

अनिताले छोराको खोज–तलासका लागि ०८१ माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । तर, निवेदन दिएको तीन महिनाभन्दा बढी भइसक्दा पनि सरोजको खोजी थालिएको छैन । ‘पति भारतको पन्जाबमा मजदुरी गर्नुहुन्छ,’ उनले थपिन्, ‘जेठो छोरा सुरज र म घरमै बस्छु, पैसा अभावले छोराको खोजी गर्न काठमान्डु जान सकेको छैन । अनि प्रहरीले खोजीमा ध्यान दिएकै छैन ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बालकको खोजीका लागि फोटो र हुलियासहितका विवरण सबैतिर पठाइसकिएको बताए । ‘बालकलाई काठमाडौं लगेका व्यक्तिको पनि खोजी गर्दैछौँ’ उनले भने, ‘बालकको खोजी भइरहेको छ ।’  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully