विष सेवन घटना : गर्भवती श्रीमतीको उपचारमा अस्पताल आएनन् श्रीमान्

चिकित्सक भन्छन्, ‘अझै जोखिम छ’

वैशाख १०, २०८२

कमलेश ठाकुर

Poisoning incident: The husband did not come to the hospital for the treatment of his pregnant wife

जनकपुरधाम — विष सेवनका कारण सिकिस्त बनेकी धनुषाको शहीदनगर नगरपालिका-५ बासुदेवपट्टीकी पविता कुमारी साह जनकपुरधामको रामजानकी अस्तालमा उपचाररत छिन्। तर, उनलाई कुर्न अस्पतालमा कोही छैनन्। परिवारका सदस्यहरू कोही पनि आएका छैनन्।

उनको रेखदेखमा कोही नभएपछि गाउँका विनोद साह मात्रै बेला–बेला आउने गरेको अस्पताल प्रशासनका मिथलेश यादवले जानकारी दिए। उनका अनुसार गए राति बिरामीको आफन्त कोही पनि नहुँदा उपचारका लागि मन्जुरीनामा दिने मान्छे नभएर समस्या भएको थियो।

‘यहाँ आउँदासम्म तीन जना बालबालिकाको मृत्यु भइसकेको थियो। गर्भवती समेत रहेकी महिला सिकिस्त  थिइन्,’ उनले भने, ‘बच्चाको ज्यान जोगाउन पहिला शल्यक्रिया गर्नुपर्ने थियो । तर, सहमति दिने परिवारका मान्छे नै थिएनन् ।’

डेढ घण्टापछि वडाध्यक्ष सुरेश कापरले गाउँको नातामा जेठान पर्नेसँग सहमति गराएपछि शल्यक्रिया गरेर बच्चालाई जोगाएको उनको भनाइ छ। सोमबार साँझ घरायसी विवाद भएपछि तीन सन्तानलाई विष खुवाएर पविताले पनि विष सेवन गरेको खबर आएको धनुषा प्रहरीका इन्सपेक्टर सञ्जिव यादवले बताए।

उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाम आइसकेपछि मात्रै घटनाबारे प्रहरीले थाहा पाएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए। 'अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनको होस् आएपछि धेरै कुरा थाहा भइहाल्छ,' उनले भने। 

विष सेवनबाट सोमबार नै पविताको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भइसकेको छ। मृत्यु भएका तीनै जनाको मंगलबार जनकपुरधामको स्वर्गद्वार आर्यघाटमा अन्तिम संस्कार भएको छ।

गर्भवतीसमेत रहेकी पविताले विष सेवन गरेर अस्पताल ल्याए पनि श्रीमान् सुशिल भने सम्पर्कमा छैनन् ।सुशिल मात्रै होइन, उनको परिवारका कोही पनि सदस्य अस्पतालमा नआएको पविताको बुबा रामचन्द्र साहले गुनासो गरे। उनले आफ्नो छोरीले रहरले नभईज् जबरजस्ती विष सेवन गराएर हत्या गरेको आरोप लगाए।

‘उनीहरूले जबरजस्ती विष नखुवाएको भए किन अस्पतालमा आउँदैनन् ?,’ उनले प्रश्न गर्दै भने, ‘किन सबै लुकेर बसेका छन्?’ उनले छोरीलाई विगतमा पनि कुटपिट गर्ने गरेको सुनाए।

पविताको उपचार गर्न मञ्जुरीनामा दिएका विनोदले आफू विद्युतको काम गर्न यदुकोहा गएको र, त्यहाँबाट खबर पाउने वित्तिकै अस्पतालमा आएको हुनाले केही जानकारी नरहेको बताए । वडाध्यक्ष सुरेश कापरले गाउँमा सुने अनुसार घरायसी विवादमा घटना भएको पाएको बताए।

दश वर्षअघि विवाह भएको उनीहरुको सम्बन्ध ठिकै रहेको वडाध्यक्ष कापरको भनाइ छ। ‘सुशिलको दुई ठाउँमा घर छ । सुशिल राइस मिल र ट्याक्टरका चालक छन्,’ उनले भने, ‘अलि बढी व्यस्त हुन्थ्यो आफ्नो काममा ।’

पविताको ससुरा नारायण साह भने सोही वडाका निर्वाचित वडा सदस्य हुन्। पविताको उपचारमा चार जना चिकित्सक संलग्न छन् । स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा. सतिश चौधरीले पविताकुमारीले धान, गँहुमा किरा लाग्न नदिन प्रयोग गरिने विष सेवन गरेको पाइएको बताए।

उनका अनुसार उक्त विष सेवनको औषधि भने छैन। ‘धान गहुँमा किरा लाग्न नदिन प्रयोग हुने औषधि सेवन गर्नुभएको रहेछ,' उनले भने, ‘जसको रिकभर गर्ने औषधि हुँदैन। तर, बिरामीलाई जुन-जुन समस्या देखिन्छ, त्यही उपचार गर्दै जाने हो । अहिलेसम्म त्यही गरिरहेका छौं ।’

अहिले आमा र बच्चालाई मेशिनमा राखेर उपचार गरिरहेको उनले बताए । बच्चाको सुधार देखिएपनि आमा अर्थात् पवितामा सुधार नदेखिएको उनले बताए । ‘भेन्टिलेटरमा राखेर दुबै जनाको उपचार हुँदै छ । आमाको अवस्था अझै जोखिम नै छ,’ उनले भने, ‘आमा जबसम्म आफैँ उठेर होस्‌मा आउँदिनन्, तबसम्म केही भन्न सकिदैन।’

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully