उपचार खर्च तीर्न नसक्दा अस्पतालको बास

वैशाख १०, २०८२

शंकर आचार्य

Hospital stay due to inability to pay treatment expenses

पर्स — पेटको शल्यक्रिया गराउन गएकी सर्लाही चन्द्रनगर गाउँपालिकाकी २४ वर्षीया मुसहर समुसदायकी रंगितादेवी उपचार खर्च तिर्न नसक्दा वीरगन्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमै रहेकी छिन् । पति विजय एक सातादेखि खर्चको जोहो गर्न घर गएका छन् । उनी फर्किएर आएका छैनन् ।

अस्पतालमा करिब ४४ हजार रुपैयाँ र अस्पताल बाहिरको औषधि पसल एलाइन्स फर्मालाई १ लाख १४ हजार १ सय ८३ रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ । हाल अस्पतालको सर्जरी वार्डको बेड नम्बर १५ मा रंगिता पतिको प्रतीक्षा गरेर बसेकी छिन् । ‘उहाँ एक हप्ता पहिले खर्चको जोहो गर्न भनेर जानुभएको हो,’ रंगिताले भनिन्, ‘फोन गर्दा खर्चको जोहो हुन सकेको छैन भन्नु हुन्छ ।’ 

रंगिताका पति विजय दैनिक ज्याला मजदुरी गर्छन् । १ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम आफूहरुको क्षमताभन्दा बाहिर रहेको उनले बताइन् । यसअघि अस्पताल र औषधोपचारमा करिब १ लाख रुपैयाँ नगद खर्च भइसकेको उनले बताइन् । ‘हामी जस्ता विपन्नका लागि डेढ लाख रुपैयाँ कल्पनाभन्दा बाहिरको कुरो हो,’ उनले भनिन्, ‘खै कसरी उहाँले जोहो गर्नु हुन्छ थाहा छैन, अझै कति दिन अस्पताल बस्नुपर्ने हो ठेगान छैन ।’ 

चैत ११ गते रंगिताको पेटमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले चैत १३ गते उनको पेटको शल्यक्रिया गरेका थिए । सर्जिकल वार्डकी इन्चार्ज नर्स दुर्गा चापागाईंले रंगिताको पेटको ‘एक्सप्लोरेटरी ल्याप्रोटोमी’ गरिएको बताइन् । पेटको आन्द्रामा समस्या देखिएपछि पेट खोलेर यस्तो शल्यक्रिया गरिन्छ । शल्यक्रियापछि ‘आइल्स्टोमी’ गरेर उनको पेटमा बन्ने दिसालाई पेट बाहिर प्लास्टिकको थैलीमा जम्मा गरिएको छ । करिब ५/६ महिनापछि फेरि अर्को शल्यक्रिया गरेर हाल बाहिर राखिएको पेटको आन्द्रालाई पेटभित्रै राखिनेछ । 

रंगितालाई डिस्चार्ज गरेर घर लग्न सकिने भएपनि उनको अस्पतालकै बक्यौता करिब ४४ हजार रुपैयाँ रहेकाले डिस्चार्ज गर्न नसकिएको चापागाईंले बताइन् । 

कुरुवा बसेकी रंगिताकी दिदी सुनायन देवीले आफू पनि बहिनी ज्वाइँकै प्रतीक्षामा रहेको बताइन् । ‘छिट्टै आउँछु, कुरुवा बसी दिनु पर्‍यो भनि उहाँ जानु भएको हो,’ उनले भनिन्, ‘गएको पनि ७ दिन भइसक्यो, फोन गर्दा केही जवाफ दिनु हुन्न, म पनि आत्तिइसकेँ ।’ औषधि पसलेले आफूलाई दैनिकजसो ताकेता गरी रहेको र आफू नाजवाफ हुने गरेको उनले बताइन् । 

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले रंगिताको परिवार भूमिहीन र अतिविपन्न रहेको बताए । यसअघि पनि गाउँघरमा चन्दा उठाएर आफूहरुले करिब १ लाख रुपैयाँको जोहो गरी दिएको उनले बताए । अति विपन्न भएकाले अस्पतालले उपचार खर्च छुट गरिदिएमा यो परिवारलाई ठूलो राहत हुने उनी सुनाउँछन् । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully