स्पष्टीकरणको सामना गर्न नसकेपछि चिकित्सकले दिए राजीनामा

वैशाख ९, २०८२

शिव पुरी

Unable to face the explanation, the doctor resigned

रौतहट — उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनापछि प्रादेशिक अस्पताल गौरले सोधेको स्पष्टीकरणको सामना नगरी डा. पंकजकुमार साहले राजीनामा दिएर सेवा त्यागेका छन्।

सरकारी अस्पतालबाट निजी अस्पतालमा लगेर शल्यक्रिया गर्दा मृत्यु भएको भन्दै अस्पतालले डा. साहलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको थियो।

गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको शल्यक्रियाका क्रममा मृत्यु भएपछि प्रादेशिक अस्पतालका डा. पंकजलाई हटाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हास्मीले जानकारी दिए। ‘डा. पंकजले गम्भीर लापरबाही गरेका हुन् कि होइन भनेर हामीले स्पष्टीकरण मागेका थियौँ। उहाँले स्पष्टीकरणको जवाफ दिनुको साटो राजीनामा दिनुभयो,’ हास्मीले भने, ‘उहाँले सामना गर्नु भएन।’

करारमा नियुक्त डा. साह केही दिनअघि अस्पताल छाडिसकेका छन्। सरकारी अस्पतालमा उपचारका लागि आएका बिरामीलाई यहाँ सम्भव नभएपछि सुविधा सम्पन्न वीरगन्ज, चितवन वा राजधानीतर्फ रिफर गर्नु पर्नेमा डा. साहले त्यसो नगरी निजी अस्पतालमा लगेर आफैंले शल्यक्रिया गरेका थिए। शल्यक्रियापछि बिरामीको मृत्यु भएपछि अस्पतालको बदनाम भएको भन्दै अस्पतालले स्पष्टीकरण मागेको थियो।

घटनालगत्तै सम्पर्कविहीन बनेका डा. साहले केही दिनपछि अस्पष्ट जवाफ दिएका थिए। तर उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै अस्पतालले दोस्रो पटक स्पष्टीकरण मागेको थियो। ‘जवाफ आउला भन्ने लागेको थियो, तर खाममै राजीनामा पठाउनुभयो,’ अस्पताल प्रमुख डा. मुरारी ठाकुरले भने, ‘शायद पछि अप्ठेरो पर्ला भनेर राजीनामा दिनुभएको हो।’

‘राजीनामाको सामना गर्न नसकेको र पछि कारबाही हुने त्रासले डा. साहले सेवा छाडेको हुनसक्छ,’ एक कर्मचारीले बताए।

गत फागुन १० गते गाउँका साथीसँग भोजमा गएका १८ वर्षीय लालुलाई एक्कासि पेट दुख्न थालेपछि साथीसँगै प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। आकस्मिक कक्षमा उपचार गराएर लालु बिहान ३ बजेतिर घर फर्किएका थिए। घरमा पनि पेट दुखाइ नरोकिएपछि बिहान १० बजे पुनः अस्पताल लगिएको थियो। त्यहाँ विभिन्न परीक्षण गरिएको थियो।

लालुलाई डा. घनश्याम ठाकुरले हेरेका थिए। आकस्मिक कक्षका चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए। आन्द्रामा प्वाल परेको र तत्काल सिलाउने सुझाव डा. पंकजले दिएका थिए। ‘यहाँ मेसिन छैन, निजी अस्पतालमा लैजानुपर्छ’ भनेपछि लालुलाई करिब ५–७ सय मिटर टाढा रहेको गौर सेन्ट्रल हस्पिटलमा लगिएको थियो। उक्त निजी अस्पतालका सञ्चालक डा. फिरोज अन्जुमन हुन्, जो सात वर्षदेखि प्रादेशिक अस्पतालमै शल्यचिकित्सकका रूपमा कार्यरत छन्। तर शल्यक्रियामा भने उनी संलग्न थिएनन्।

बेलुका ७ बजेतिर डा. पंकजले लालुको शल्यक्रिया सुरु गरेका थिए। पेट चिरेर प्वाल परेको आन्द्रा सिलाउने प्रयास गरिएको थियो। तर सङ्क्रमण शरीरभरि फैलिइसकेको भन्दै राति ९ बजेतिर डाक्टरले लालुलाई आईसीयू सुविधायुक्त अस्पतालमा लैजानुपर्ने बताएका थिए। त्यसपछि एम्बुलेन्समा मुखमा जोडिएको ब्याग थिच्दै वीरगन्जको मेडिकल कलेज लगिएको थियो। तर त्यहाँ पुगेपछि चिकित्सकले लालुको पहिले नै मृत्यु भइसकेको बताए।

पीडितले डा. पंकजको लापरबाही भएको भन्दै विरोध जनाए। अस्पतालमा हल्ला भयो, प्रदर्शन सुरु भयो। त्यसपछि डा. पंकजको खोजी सुरु भयो, तर उनी आफूमाथि आक्रमणको डरले लुकेका थिए।

डा. पंकजसँग सम्पर्क गर्दा उनले यस विषयमा भेटेरै कुरा गर्न आग्रह गरे। ‘मसँग भेटेर कुरा गर्नुहोस्,’ उनले भने, ‘फोनमा म तपाईँहरूसँग कुरा गर्दिनँ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully