प्लान्ट क्वारेन्टाइन स्थापनाको माग गर्दै सुरु धर्नामा वाणिज्य संघको ऐक्यबद्धता

वैशाख ९, २०८२

शिव पुरी

Solidarity of trade unions in starting sit-in demanding establishment of plant quarantine

रौतहट — प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ स्थापनाको माग राख्दै रौतहटका व्यवसायीले सुरु गरेको धर्नामा रौतहट उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाउँदै मंगलबार सहभागी भएका छन् । संघका अध्यक्ष पण्डितप्रसाद जयसवाल, महासचिव रवीन्द्रनाथ गोपालीसहित कार्यसमितिका सदस्य गौर भन्सारको मुख्य गेटमा धर्नामा बसेर ऐक्यबद्धता जनाएका हुन् ।

प्रमुख भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा जिल्लाका व्यापारीलाई वीरगन्ज र सर्लाही नाका हुँदै सामान ल्याउनुपर्ने बाध्यता भएकाले सरकारले तत्कालै यसको व्यवस्था गरोस् भनेर दबाब दिन आइतबारबाट सुरु धर्नामा ऐक्बयद्धता जनाएको जयसवालले बताए ।

‘यहाँको समस्या अहिलेदेखिको होइन । राज्य यति निरीह हुन थाल्यो कि व्यवसायीहरुको समस्या समाधान गर्न धर्ना आन्दोलन नै गर्नुपर्ने,' उनले भने, ‘व्यवसायी साथीहरुले अघि सारेको मागप्रति हाम्रो पूर्ण समर्थन र ऐक्यबद्धता छ ।’

व्यापारीहरुले चैत ३१ गते भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । गौर भन्सारबाट खाद्यान्न लगायत कृषिजन्य वस्तुको आयात, निर्यात हुँदा ५० प्रतिशत राजस्व यही शीर्षकबाट संकलन हुँदै आएको व्यवसायीको दाबी छ ।

२०३३ सालमा स्थापना भएको गौर भन्सारमा ‘प्लान्ट क्वारेन्टाइन’ छैन । २०७६ सालसम्म यहाँका व्यवसायीले भारतबाट खाद्यान्न, फलफूल, तरकारी लगायतको वस्तु आयात गर्दा गौर भन्सारमा राखेर यहीँबाट नमुना वीरगन्ज पठाइन्थ्यो । त्यहाँबाट ठिकठाक भएको प्रतिवेदन आएपछि भन्सारले राजस्व असुल्थ्यो । त्यस बेला ५० प्रतिशतभन्दा बढी राजस्व कृषिजन्य वस्तुबाट असुल हुने गरेको प्रमुख भन्सार अधिकृत अमरेन्द्रकुमार सिंहले बताए ।

२०७६ सालपछि कृषिजन्य वस्तु वीरगन्ज पठाएर परीक्षण गर्ने प्रक्रिया पनि रोकेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् । भन्सारमा भारतबाट झन्डै ६० प्रतिशत कृषिजन्य वस्तु आउँथ्यो । अहिले ठप्प छ ।

व्यवसायी कौशल साहले क्वारेन्टाइन स्थापना गर्न हारगुहार गर्दा पनि सुनुवाइ नभएको सुनाए । व्यवसायीले वैशाख १५ गतेसम्म शान्तिपूर्ण धर्ना, प्रदर्शन गर्ने र १६ देखि भन्सार कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।

जिल्लाका व्यवसायीले भारतबाट खाद्यान्न, फलफूल, आलु, प्याज, तरकारी लगायतका सामान वीरगन्ज र सर्लाही नाका हुँदै भित्र्याउने गर्छन् । यसरी घुमाउरो बाटोबाट ल्याउँदा ढुवानी खर्च बढी हुन्छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully