किशोरी मृत्यु घटना छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वैशाख ९, २०८२

विद्यानन्द राम

A memorandum to the Prime Minister demanding an investigation into the death of a teenage girl

राजविराज — पूजाकुमारी राम मृत भेटिएको घटनामा न्याय प्रक्रिया ढिलाइ भएको भन्दै दलित अधिकार क्षेत्रमा कार्य गरिरहेका तीन वटा संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

मंगलबार ती संघसंस्था आबद्ध पदाधिकारीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् । 

घटनाको सात दिन भइसक्दा पनि अपराधी फेला नपर्नुले न्याय पाउने प्रक्रिया सुस्त देखिएको नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले बताए । ‘मधेशमा दलित समुदायका महिला र किशोरी नियमित रुपमा हिंसाको सिकार बनिरहेका छन् तर प्रहरीको अनुसन्धान ज्यादै सुस्त देखियो,’ उनले भने, ‘पूजाको हत्याले समग्रमा दलित महिला र किशोरीलाई राज्य संयन्त्रले गरिरहेको सुरक्षामाथि नै गम्भीर सवाल बनेको छ ।’ 

राम समाजका साथै राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र जनचेतना दलित संगमले बुझाएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरिएको छ । त्यस्तै, पूजाको शंकास्पद मृत्यु घटनासहित मधेशमा दलित समुदायमाथि भइरहेको हत्या हिंसाको घटनामा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरिएको छ । 

वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी सप्तरीको सुरुंगा नगरपालिका–७ हरिपुर रामटोलकी १८ वर्षीया पूजा भोलिपल्ट शंकास्पद अवस्थामा मृत भटिएकी थिइन् । उनकी आमा रामवतीले छोरीको हत्या भएको भन्दै गत बुधबार नै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी छन् ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनामा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । ‘धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम भइसके पनि भिसेरा परीक्षणको रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully