‘जलैबाला जलैत रहतै, रेखाके रिक्सा चलैत रहतै’

बोदेबरसाइनकी 'रिक्सावाली' रेखा भन्छिन् : खान, लाउन पुगेको छ, दुवै छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेकी छु

वैशाख ७, २०८२

विद्यानन्द राम

”Jalaibala Jalita Rahtai, Rekhake Rickshaw Chalait Rahtai”

राजविराज — बोदेबरसाइन चोकैमा उभिएको छ, एउटा ई रिक्सा । त्यसैमा छिन्, २९ वर्षीया रेखाकुमारी यादव । धेरैले उनलाई यात्रु सम्झिन्छन् । तर उनी त यो रिक्साकी मालिक र चालक दुवै हुन् ।

ई–रिक्सा नम्बर प्र १–०१–००२ ह ४५५७ । यसको रुट हो, बोदेबरसाइनबाट सदरमुकाम राजविराज । अनि सदरमुकामबाट फेरि फर्केर बोदेबरसाइन । हरेक बिहान रेखाकुमारी सप्तरीको खडक नगरपालिका–११ बनौलीबाट ई–रिक्सा लिएर आफ्नो रुटमा आइपुग्छिन् । अनि सुरु हुन्छ, उनको दैनिक कर्म ।

वडा प्रहरी कार्यालय छेवैको स्ट्यान्डमा ई–रिक्सा रोकेर उनी यात्रु खोज्न सुरु गर्छिन् । ‘कत जेबै ? याउ न बैठु न, अहाँ कत जेबै भाइजी ? कनिकालमे खुल्तै रिक्सा,’ यताउता नजर दौडाउँदै स्वर तिखो पार्दै उनी यात्रु बोलाउँदै भन्छिन्, ‘हौ भैया, रिक्सा खुइल रहल छै, आबु न, आउ न दिदी ।’

यसरी जम्मा पारेका यात्रुलाई गन्तव्यमा पुर्‍याएर भाडा बुझेपछि उनी हँसिलो अनुहारमा यात्रुलाई भन्ने गर्छिन्, ‘हमरे रिक्सामे बैठब, बरसाइनमे हम बिहान १० बजे सब दिन चैल आबै चियै ।’ अर्थात् मेरै रिक्सामा बस्नुहोला, म सधैं १० बजे बरसाइन बजार आइपुग्छु ।

सडकमा रिक्सा लिएर निस्कनुअघि रेखाकुमारीले अनेक चरणमा साहस बटुल्नुपरेको थियो । किनकि मधेशमा महिलालाई घरबाहिर निस्कनु अझै पनि त्यति सजिलो छैन । त्यसैमाथि पुरुषहरुकै दबदबा रहेको यातायात क्षेत्रको काम गर्न त सानोतिनो आँट नै बटुल्नुपर्छ ।

बनौली गाउँ माइती भएकी रेखाको १० वर्षअघि नै सिरहाको सखुवा सिम्राहामा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । बोदेबरसाइनस्थित चन्द्रा नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मै अध्ययनरत रहँदा विवाह गरेकी उनको वैवाहिक जीवन ७/८ वर्षसम्म राम्रै चल्यो । दुई सन्तानकी आमा पनि भइन् । तर, दुई वर्षअघि पतिले अर्की महिलासँग लुकिछिपी विवाह गरेपछि उनको खुसीको संसारमा शून्यता छायो ।

‘पति अर्की महिलासँग लागेपछि धेरै दुःख र यातना दिन्थ्यो,’ उनले पुराना दिन सम्झिँदै भनिन्, ‘पति नै आफ्नो हुन सकेनन्, अनि कानुनी बाटो अपनाउन बाध्य भएँ, बहुविवाहको मुद्दामा उनी (पति) कानुनअनुसार भोग्दै छन् ।’

महिनौसम्म मानसिक तथा शारीरिक यातना सहेकी उनीलाई के गरुँ, कहाँ जाउँ, जीवन कसरी धान्ने चिन्ताले सताइरहन्थ्यो । यही अप्ठ्यारोका बीच यस्तो अवस्थामा पतिले पनि घरमा बस्न नदिएपछि दुई सन्तान बोकेर माइती (बनौली) फर्किइन् । उनीसँग आम्दानीको कुनै स्रोत थिएन । हातमा सीप थिएन । तर स–सना दुई छोरा हुर्काउने दायित्व भने उनको एक्लो काँधमा थियो ।

१२ कक्षा पढ्दापढ्दै बिहे भएर पढाइ नछुटेको भए आफूले केही गर्न सक्थेँ कि भन्ने पछुतो पनि उनलाई भयो । केही जागिर गर्नका लागि पनि उनीसँग नागरिकता थिएन । पतिको घर छाडेकाले उनलाई नागरिकता बनाउन सजिलो भएन । भनिन्छन्, ‘धेरै दिनसमम प्रहरी र प्रशासन धाएर नागरिकता बनाएँ ।’ नागरिकता बने पनि उनले तत्कालै रोजगारी पाइनन् । यही अप्ठ्यारोका बेला उनलाई सानी आमाकी छोरी अन्जुले जागिर खानुभन्दा आफ्नै खुट्टामा उभिन सल्लाह दिइन् । अन्जुकै सल्लाहपछि उनले धरान गएर ई–रिक्सा चलाउने तालिम लिइन् ।  

ई–रिक्सा चलाउने निधो गरे पनि उनीसँग रिक्सा किन्ने पैसा थिएन । बुवाको अवस्था पनि त्यस्तै थियो । अनेकतिर पैँचो–सापटी मागेर उनले २ लाख ५० हजारमा ई–रिक्सा किन्न भ्याइन् । ‘सिटी चलाउन के सुरु गरेँ, पाइलैपिच्छे कुरा काट्ने भेटिन्थे तर रिक्सा चलाउन पछि हटिनँ,’ उनले थपिन्, ‘हाम्रो समाजमा छोरीलाई रिक्सा चलाउनु नौलो थियो नि त, प्रोत्साहनभन्दा पनि कुरा काट्ने जमात बढी हुन्थ्यो, बिस्तारै कुरा काट्नेहरु पनि हराउँदै गए ।’

ई–रिक्सा चलाउन थालेपछि आफूले धेरै कुरा सिक्दै र बुझ्दै गएको उनको अनुभव छ । जीवन बदलिँदै गएकामा उनले मुस्कुराउँदै भनिन्, ‘जलैबाला जलैत रहतै, रेखाके रिक्सा चलैत रहतै ।’ अर्थात्, जल्नेहरु जलिरहन्छन्, रेखाको रिक्सा चलिरहन्छ ।

सुरुवातमा रिक्सा कुदाएर राजविराज आउँदा उनलाई रुटमा छिर्न निक्कै सकस थियो। करिब ४० वटा रिक्सा चल्ने उक्त स्ट्यान्डमा रेखा एक्लो महिला चालक थिइन् । ‘सुरुसुरुमा केही थाहा थिएन, यात्रुसँग बोल्न पनि संकोच हुन्थ्यो, अब बोल्न अभ्यस्त भइसकेको छु,' उनी भन्छिन्, 'कहिलेकाहीँ रुट र यात्रुको विषयमा विवाद हुँदा भने फेस गर्नुपर्छ ।’ ”Jalaibala Jalita Rahtai, Rekhake Rickshaw Chalait Rahtai”
उनका १० वर्षीय छोरा कक्षा ६ र ८ वर्षीय छोरा कक्षा २ मा पढ्छन् । दुवैलाई स्कुल पठाउने तयारीमा उनी बिहानैदेखि जुटनुपर्छ । खाना बनाउनेदेखि घरको सारा काम भ्याईवरी रिक्सा लिएर सडकमा आइपुग्दा १० बज्छ । ‘कम्तीमा ४/५ जना यात्रु पाएपछि राजविराज आइहाल्छु अनि त्यति नै संख्यामा यात्रु बोकेर यहाँबाट फर्किन्छु,’ उनले थपिन्, ‘२–३ पटक ओहारदोहोर गर्दा हजारदेखि १५ सयसम्म भइहाल्छ, खुसी छु ।’

साँझ ७ बजेतिर उनी ई–रिक्सा कुदाएर घर फर्किन्छिन् । अनि सन्तानसँगै रमाउँछिन् । आफूले पढ्न नपाए पनि छोराहरुलाई पढाएर असल र सक्षम व्यक्ति बनाउने उनको संक ल्प छ ।  ‘श्रीमान्‌बिना महिलाले केही गर्नै नसकिने होइन तर असल श्रीमान्‌को साथ र सहयोगले पारिवारिक जिन्दगी चलाउन सहज हुन्छ,’ उनले थपिन्, ‘मेरो पनि श्रीमान् असल बनेर आयो भने विचार गर्न सक्ने ठाउँ छ ।’

समाजमा आफूजस्ता थुप्रै महिला थरीथरीका हिंसा सहन बाध्य भएको र कतिपयले जीवनबाट हार मान्ने गरेको उनले बताइन् । ‘समस्यासँग हार मान्नु हुँदैन, निरन्तर सङ्घर्ष गर्दै गएपछि दुःख पन्छिँदै जान्छ,’ रेखाले आँट भरिएको स्वरमा भनिन्, ‘काम कुनै सानो र ठूलो हुँदैन, घरमा गुम्सिएर बस्नुभन्दा मिहिनेत गरेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि कसैको अगाडि झुक्नुपर्दैन ।’

पतिको घर छाडेर विद्रोह गरेकी रेखाले यतिबेला ‘रिक्सावाली’को नयाँ नाम पाएकी छिन् । आफ्नै कमाइको बलले उनीमा आत्मविश्वास मात्रै थपिएको छैन, सोचजस्तो गर्न पनि पुगेको छ । उनले अनुहारमा खुसीको भाव ल्याउँदै सुनाइन्, ‘खान, लाउन पुगेको छ । दुवै छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेकी छु ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully