रौतहट — रौतहटका व्यवसायीले प्रमुख भन्सार कार्यालय गौरमा ‘प्लान्ट क्वारेन्टाइन’ माग राख्दै आइतबारबाट धर्ना सुरु गरेका छन् ।
गौरका व्यवसायी कौशल साहको नेतृत्वमा कार्यालयको मुख्य गेटमा धर्ना सुरु गरेका हुन् । गौर भन्सारमा कृषि तथा फुड क्वारेन्टाइन नहुँदा जिल्लाका व्यापारीहरुलाई वीरगंज र सर्लाही नाका हुँदै सामान ल्याउनु पर्ने बाध्यता भएकाले सरकारले तत्कालै यसको व्यवस्था गरोस् भनेर दबाब दिन थालेको व्यवसायी साहले बताए ।
‘व्यवसायीहरुले लामो समयदेखि झन्झट ब्यहोर्दै आएका छन् । हामीले प्लान्ट क्वारेन्टाइन स्थापना गर्नुस् भनेका हौं,' उनले भने,‘हाम्रो मागको कुनै सुनवाइ भएन । बाध्य भएर धर्नामा बसेका हौं ।’ यहाँका व्यापारीले चैत ३१ गते साहकै नेतृत्वमा भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । गौर भन्सारबाट खाद्यान्नलगायत कृषिजन्य वस्तुको आयात, निर्यात हुँदा ५० प्रतिशत राजस्व यही शीर्षकबाट संकलन हुँदै आएको व्यवसायीको दाबी छ । यही कारण कृषि क्वारेन्टाइन माग अघि सारेको उनीहरुको भनाइ छ ।
व्यवसायीहरुले वैशाख १५ गतेसम्म शान्तिपूर्ण धर्ना, प्रदर्शन गर्ने र वैशाख १६ देखि भन्सार कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्नेबारे ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् । जिल्लाका व्यवसायीहरुले भारतबाट खाद्यान्न, फलफूल, आलु, प्याज, तरकारी लगायतका सामान वीरगन्ज र सर्लाही नाका हुँदै भित्र्याउने गर्छन् । यसरी घुमाउरो बाटोबाट ल्याउँदा ढुवानी खर्च बढी हुन्छ ।
‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको व्यवसायीहरु बताउछन् । यहाँका व्यवसायीहरुले नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको गुनासो गरेका छन् ।
रौतहटका प्रमुख भन्सार अधिकृत अमरेन्द्रकुमार सिंहले व्यवसायीहरुले भोगेका समस्याबारे माथिल्लो निकायमा कुरा राखेको बताए । २०३३ सालमा स्थापना भएको गौर भन्सारमा ‘प्लान्ट क्वारेन्टाइन’ राखिएको छैन ।
