राजविराज — कोशी नदीमा रोक लगाइएको ‘पाइलट च्यानल’ निर्माण कार्य पुनः सुरु भएको छ। भारतले नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतिर धकेल्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियाँस्थित ‘पाइलट च्यानल’ बनाउन लागेको हो।
‘पाइलट च्यानल’ का कारण पश्चिमी भू–भागमा बसोबास गर्ने स्थानीय बाढीको जोखिममा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा गुनासो आउन थालेपछि गत बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितका टोली पुगेर निर्माण कार्य रोकेका थिए ।
नेपाल–भारतका प्राविधिकलाई राखेर थप छलफल गर्ने र त्यसबाट आउने निष्कर्ष अनुसार अघि बढ्ने उद्देश्यले निर्माण कार्य रोकिए पनि स्थानीयस्तरमा छलफल भने हुन सकेन। बिहीबार निर्माणस्थलमा आएका विहार सरकारका जल संशाधन विभागअन्तर्गत वीरपुर कार्यालयका कर्मचारी र सम्पर्क सह भू–आर्जन कार्यालय कोशी योजना विराटनगरका सम्पर्क सह–अधिकृतसँग जानकारी लिएर उक्त टोलीले फर्किएपछि शुक्रबारबाट निर्माण कार्य पुनः सुरु भएको हो ।
भारतको वीरपुरमा यसअघि नै बसेको कोशी योजनाका उच्चस्तरीय समितिको बैठकले सो कार्य गर्न निर्णय भइसकेको पाएपछि उनीहरु फर्किएका हुन्।
‘कोशी प्रोजेक्टका उच्चस्तरीय कमिटीले गरेका लिखित निर्णय, सम्झौता र अन्य कागजातहरु पनि हेर्यौ, सोहीअनुसार नै उहाँहरु काम गरिरहेको देखिन्छ,’ प्रजिअ दाहालले भने, ‘सम्झौताअनुसार पश्चिमी तटबन्ध जोगाउन सोल रिमूभलको काम भइरहेको छ ।’
तर, तटबन्ध जोगाउनै काम भइरहेको छ भन्ने त्यसबाट निस्किने बालुवा र माटो पूर्वतर्फ नै जम्मा गरिरहेकोले शंका बढाएको टोलीमा सहभागी तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए ।
‘छलफल, समन्वय त स्थानीयस्तरमा पनि हुनुपर्ने हो, अहिले बालुवा र माटो सबै नदीतर्फ नै किन थुपार्दै छन् ?’ उनले थपे, ‘तटबन्ध जोगाउन खोजेका छन् भने तटबन्धतिर बालुवा र माटो थुपार्नुपर्ने होइन र ?’
वीरपुर कार्यालयका कर्मचारी सहायक इन्जिनियर नितिशचन्द्र सिंहले बोल्न मानेनन् । ‘मलाई मिडियामा बोल्ने अनुमति छैन्’, उनले भने ।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ का वडाध्यक्ष कृष्ण यादवका अनुसार नदीको बीचबाट खन्नुपर्ने ‘पाइलट च्यानल’ पश्चिमी किनारबाट खनिरहदा तटबन्ध भत्किने र यसले टिकुलियाँ, बनरझुला, डल्बा, रम्पुरालगायतका बस्ती बाढीको उच्च जोखिममा पर्नेछन् ।
