रौतहटका दुई बेग्लाबेग्लै स्थानमा आगलागी

वैशाख ६, २०८२

शिव पुरी

Fire broke out in two separate places in Rautahat

रौतहट — रौतहट सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकास्थित कोपवा गाउँमा आगलागी हुँदा झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रबार राति करिब ९ बजे सदरमुकाम गौरको कविर चोकस्थित कृष्णनन्दन पेटलको बाँस र खरले छाएको कच्ची घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट ४ लाख बराबरको कच्ची घर,  ५ थान मोटरसाइकल, पानी तान्ने मोटरमा क्षति भएको पीडितले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी दीपककुमार रायले बताए । सुरक्षाकर्मी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

बौधिमाई-५ कोपवाका धर्मेन्द्र जैसवालको ३ तले पक्की घरको भुइँतलाको गोदाममा राति साढे ८ बजे अचानक विद्युत् तार सर्ट भई आगलागी हुँदा गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा, चप्पल, १ थान मोटरसाइकल, ३ तले घर गरी १ करोड ७६ लाख बराबरको क्षति भएको प्रहरीलाई दिएको पीडितको निवेदनमा उल्लेख छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully