आनन्दी सदाय मृत्यु प्रकरण : दर्ता भइसकेको जाहेरी बदर गरी प्रहरीले नै गरेको थियो घटना मिलाउने प्रयास

आर्थिक प्रलोभनसहित प्रहरीले मिलिहाल्न दबाब दिएको पीडित परिवारको भनाइ

वैशाख ६, २०८२

विनय आजाद

Anandi Saday death case: By canceling the registered complaint, the police tried to settle the incident

सिराहा — यौन दुर्व्यवहार घटनामा न्यायका लागि चार महिनादेखि भौँतारिइरहेकी सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । तर उनको मृत्यु अघिका घटनाक्रम केलाउँदा कानुनी राज्यलाई नै गिज्याउने किसिमका काम भएको पाइएको छ ।

पुस ९ गते, बिहानको ११ बजिरहेको थियो । उनी बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गन्तव्यतिर हिँडिरहेकी उनलाई गाउँकै पोखरी छेउको आँप बगैँचामा तानेर लगी लछारपछार गर्दै स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले घेरा हाल्दै सामूहिक बलात्कार प्रयास गरे । रोइकराइ गर्दै उम्केर आनन्दी घर आइपुगिन् । 

घटनाबारे सुनाएपछि आमा बिल्टौन सदायले आनन्दीका पति नरहा गाउँपालिकास्थित बर्छबाका उमेश सदायलाई पनि खबर गरिन् । उमेश आएपछि सोही दिन उनीहरू इलाका प्रहरी कार्यालय, महेशपुर पतार पुगेर 'जबरजस्ती करणी उद्योग' शीर्षकमा जाहेरी दिए ।

तर, प्रहरीमा जाहेरी परेपछि किटान गरिएका आरोपितमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्नुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउन प्रयास भएको भेटिएको छ । घटना गाउँमै मिलाउने प्रयासमा आरोपित, आरोपितका आफन्त र स्थानीय मात्रै होइन प्रहरी नै पनि संलग्न रहेको खुलेको छ ।

Anandi Saday death case: By canceling the registered complaint, the police tried to settle the incident

आमा बिल्टौनका अनुसार, मुद्दा दिएको थाहा पाएपछि घटनाको बिहानैपल्ट आरोपित सञ्जिवका बुबा उपेन्द्र यादव र श्यामसुन्दरका बुबा शिवदत्त यादव, सरकारी शिक्षकसमेत रहेका स्थानीय नरेन्द्र यादवलगायत उनको घर पुगेका थिए । उनीहरू आफ्नो घर आएर छोरी र आफूलाई दुई लाख रुपैयाँ लिएर मिलिहाल्न र नमिले उल्टै मुद्दा लगाइदिने भनेको बिल्टौनले कान्तिपुरलाई बताइन् ।

‘मलाई र मेरी छोरीलाई उनीहरूले समाजमै बस्नु छ, दुई लाख रुपैयाँ लिएर मिलिहाल भनेर दबाब दिए,’ बिल्टौनले कान्तिपुरलाई सुनाइन्, ‘तर, मैले म पैसाको भोको होइन, कानुनी कारबाहीका लागि नै लड्छु भनेको थिएँ ।’

पीडक पक्षबाट पटक पटकको प्रयासपछि पनि घटना मिलाउने कुरा सम्भव नभएपछि यसका लागि प्रहरी नै सक्रिय भएको घटनाक्रमले देखाएको छ । प्रहरी स्रोतका अनुसार, पीडक पक्षबाट आफन्त र केही स्थानीय घटनाको तेस्रो दिन जिल्ला प्रहरी कार्यालय, सिराहा पुगेर तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई भेटेका थिए ।

पीडक पक्ष जिल्ला प्रहरी पुगेर आएपछि आफूहरूलाई पटक पटक इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा बोलाएर प्रहरीले आर्थिक प्रलोभनसहित मिलिहाल्न दबाब दिएको पीडित परिवारको भनाइ छ । ‘हामीलाई मुद्दा फाँटका प्रहरीले तिमीहरू गरिब छौ, मुद्दा लड्न कहाँबाट पैसा ल्याउँछौ, नलड, पैसा लिएर मिलिहाल भनेर भने,’ बिल्टौनले भनिन् ।

Anandi Saday death case: By canceling the registered complaint, the police tried to settle the incident

तर, आफूहरूले नमानेपछि प्रहरीले मुद्दा दर्ता भएपछि आरोपितहरु भारत भागिहाल्ने र आफूहरू समाउन नसक्ने जवाफ दिएको बिल्टौन बताउँछिन् । त्यसपछि आफूले ‘कसरी हुन्छ हामीलाई न्याय चाहियो, के हामी गरिबको इज्जत केही होइन ?’ भनेपछि बल्ल प्रहरीले मुद्दा प्रक्रिया अगाडि बढाएको उनले बताइन् ।

जाहेरी दिएको झन्डै एक महिनापछि माघ ४ मा प्रहरीले पीडित परिवारलाई बोलाएर जाहेरी दर्ता भएको भरपाई पनि दियो । कान्तिपुरले फेला पारेको उक्त भरपाईमा ‘यस कार्यालयको कसुर दर्ता किताबमा मिति २०८१ माघ ४ गते मुद्दा नम्बर ४० मा दर्ता भयो’ उल्लेख छ । जाहेरी दरखास्त दर्ता गर्ने प्रहरी कर्मचारीको नाम प्रहरी हबलदार मनोजकुमार यादव रहेको उक्त भरपाईमा लेखिएको छ ।

तर त्यसको बिहानैपल्ट फेरि पीडित परिवारलाई बोलाएर गालीगलौज गर्दै उक्त भरपाई प्रहरीले च्यातिदिएको बिल्टौनले बताइन् । त्यसपछि अब केही हुन नसक्ने भन्दै प्रहरीले फेरि गाउँमै केही पैसा लिएर मिलिहाल्न भनेको बिल्टौनको भनाइ छ । ‘हामीले नमानेपछि प्रहरीले पटक पटक फकाउन खोज्यो, तर हामी मानेनौँ,’ उनले सुनाइन् । 

जिल्लाबाट थप अनुसन्धान गरी मात्रै अगाडि बढ्नु भन्ने आदेश भएकोले मुद्दा बदर गर्नुपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीको दाबी छ । ‘जिल्लाबाट अर्कै आदेश भए पनि मुद्दा फाँटका प्रहरीले थाहै नपाएर दर्ता गरिदिएछन्,’ मैनालीले भने, ‘त्यसैले बदर गर्नुपर्‍यो ।’ आफ्नो कार्यालयमा पीडितलाई मिल्नका लागि कसैले कुनै दबाब नदिएको दाबी पनि उनको छ ।

Anandi Saday death case: By canceling the registered complaint, the police tried to settle the incident

प्रहरीले दर्ता भइसकेको मुद्दा बदर गरिदिएपछि बिलखबन्दमा परेका पीडित परिवार दलितका अगुवाहरूलाई गुहारेका थिए । दलितका अगुवाले पनि पहल गर्दा मुद्दा दर्ता गर्न आलटाल गर्दै आएको प्रहरीले पत्रकार सम्मेलनको चेतावनीपछि फागुन २५ मा बल्ल मुद्दा दर्ता गरेको थियो ।

सिराहा जिल्ला अदालतबाट फागुन २६ मा पक्राउ पुर्जी पनि जारी भयो । तर उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन् । आनन्दीको मृत्यु हुनु अघिसम्म उनीहरू बेलाबेला गाउँतिरै देखा पर्ने गरेको र सूचना दिँदा पनि प्रहरीले नपक्रेको बिल्टौनको भनाइ छ ।

तर सिराहाका प्रहरी प्रमुख अनन्तराम शर्माले आरोपितहरू भारततिर फरार भएकाले समाउन समस्या भएको बताउँछन् । ‘मुद्दा दर्ता भएपछि उनीहरू भारततिर भागेको भन्ने छ, हामीले उनीहरूलाई खोज्दैछौँ, पक्राउ परिहाल्छन्,’ उनले भने ।

यही किचलोका कारण पछिल्लो समय पति उमेशले आनन्दीसँग बोलचाल पनि बन्द गरेका थिए । प्रहरीमा पटक पटक भौँतारिँदा पनि न्याय पाउने छाँटकाँट नदेखिएपछि उनी पनि तनावमा आएको आनन्दीको भनाइ छ । यसैकारण पछिल्लो समय आनन्दी मानसिक तनावबाट गुज्रिरहेकी थिइन् । उनकी दुई वर्षकी छोरी छिन् ।

Anandi Saday death case: By canceling the registered complaint, the police tried to settle the incident

यो घटनामा प्रहरीले निकै बदमासी गरेको र जनप्रतिनिधिको नाताले आफूले पहल गर्दा पनि प्रहरीले कुनै सुनुवाइ नगरेको वडाध्यक्ष वंशीलाल यादव बताउँछन् । ‘यो घटनामा प्रहरीले एकदमै बदमासी गरेको छ,’ उनले कान्तिपुरसित भने, ‘जनप्रतिनिधिको नाताले मैले पहल पनि गर्न खोजेको हुँ, तर प्रहरीले कुनै सुनुवाइ गरेन ।’

यो घटनाको मुख्य जिम्मेवार प्रहरी नै रहेको र प्रहरीकै कारण आनन्दीलाई मृत्युको बाटो रोज्न बाध्य तुल्याएको दलित अगुवाको आरोप छ । दलित अगुवा मनोजकुमार पासवानले पीडितलाई उल्टै पीडा दिने काम भएको भन्दै यसमा संलग्न प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘राज्यका निकायले भुइँ तहका नागरिकलाई कसरी नागरिक नै गन्दैन, र कसरी निराश बनाउँदै मृत्युको बाटो रोज्न बाध्य बनाउँछ भन्ने कुराको यो घटना उदाहरण बन्यो,’ उनले कान्तिपुरसित भने, ‘यसमा संलग्न प्रहरी अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गरिनुपर्छ ।’

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully