बारा — बाराको निजगढ-पथलैया खण्डमा शुक्रबार अपराह्न टिपर र कार ठोकिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका-१६ मा पर्ने भुईं पुलमा दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा. ०१-०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खाँदा नाम नखुलेको कारका चालक र कारमा सवार सर्लाही बरहथवा नगरपालिका-१५ हजरिया गाउँका ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनीहरु दुवैलाई निजगढ सामुदायिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिपर चालक फरार छन् । टिपर र कार प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
