वडाध्यक्षले अतिक्रमण गरेको जग्गा जोगाउन भत्काइयो मुसहरको घर

वैशाख ४, २०८२

अवधेशकुमार झा

Musahar's house was demolished to protect the encroached land by the ward president

जमुवा(सप्तरी) — सप्तरीको राजगढ गाउपालिका–४ जमुवा टोलमा सामुदायिक भवन बनाउन एक दलित मुसहर परिवारको घर स्थानीय जनप्रतिनिधिको निर्देशन र प्रहरीको उपस्थितिमा भत्काइएको छ । 

मुसहरको घर भत्काइ सामुदायिक भवन निर्माण गरिरहेको स्थानमै वडाध्यक्ष अशोककुमार साहले पनि सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेको भए पनि उनले प्रयोग गर्दै आएको सार्वजनिक जग्गा जोगाउन मुसहर समुदायको घर भत्काइएको हो ।

वडाध्यक्ष साहले आफ्नै घर अगाडि सामुदायिक भवन बनाउन सुरु गरेका कारण आफूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पनि जोगिने गरी गत चैत २६ गते प्रहरीको उपस्थितिमा मुसहर समुदायकी रन्जनकुमारी सदाको घर जेसिबी लगाएर भत्काएका थिए । राजगढ ४ जमुवामा रहेको ग्रामीण सडकदेखि पश्चिम वडाध्यक्ष साहको घर छ । सडकदेखि पूर्व सार्वजनिक पोखरीको डिल छ । यो डिलको जग्गा सार्वजनिक ऐलानी हो । 

पोखरीको डिलमा ४० परिवार मुसहरको बसोवास रहे पनि सडक छेउमा भने वडाध्यक्ष साहले नै अतिक्रमण गरी प्रयोग गर्दै आएका छन् । 

आफ्नै घर अगाडिको सार्वजनिक पोखरीको डिलमा वडाध्यक्ष साहले परालको टाल लगाउनुका साथै सानो गोठघर नै बनाएका छन् । यस्तै पानी तान्ने मोटर पनि सोही सार्वजनिक जग्गामा लगाएर वडाध्यक्षले उक्त जग्गा भोगचलन गर्दै आएका छन् ।

पोखरीकै डिलमा सामुदायिक भवन निर्माण गर्ने तयारी गरिएपछि सडक छेउमै रहेको आफ्नो जग्गा जोगाउँदै सामुदायिक भवन बनाउनका लागि भन्दै गत चैत २६ मा प्रहरीको उपस्थितिमा जबरजस्ती जेसिबी लगाएर घर भत्काएको पीडित रञ्जनकुमारी सदाले बताइन् ।

वडाध्यक्ष साहले भने आफूले भोगचलन गर्दै आएको जग्गाबाट पनि सामुदायिक भवन निर्माणका लागि जग्गा दिएको दाबी गरे । सामुदायिक भवन अगाडि केही जग्गा खाली राख्ने स्थानीयको सोच रहेकाले सामुदायिक भवन सडकभन्दा केही पूर्व बनाउन सुरु गरिएको उनले प्रष्टोक्ति दिए । 

जमुवा टोलस्थित सार्वजनिक पोखरीको डिलमा बाबुबाजेकै पालादेखि बसोबास रहेकामा वडाध्यक्ष साहले आफूहरुको सहमतिबिना जबरजस्ती जेसिबी लगाएर घर भत्काएपछि विचल्लीमा परेको रन्जनकुमारीले दुखेसो सुनाइन् । ‘न कुनै पूर्व सूचना दिए न त कुनै वैकल्पिक व्यवस्था नै,’ रन्जनकुमारीले भनिन्, ‘सिधा डोजर लिएर आए वडाध्यक्षका मानिसहरुले घर भत्काएर बालबच्चासहित मलाई उठिबास लगाए ।’

‘मेरो पति र ससुरा बुबा घरमा रहँदासम्म केही गरेनन्, चैत २२ गते रोजगारीका लागि उहाँहरू पञ्जाब जानुभयो । त्यसको चार दिनपछि वडाध्यक्ष र उनले परिचालन गरेका व्यक्तिहरुले जबरजस्ती घर भत्काए, कमजोरलाई सबैले हेप्छन्,’ उनले भनिन् ।

राजगढ–४ का वडाध्यक्ष अशोककुमार साहले भने सामुदायिक भवन निर्माणका लागि सबैको सहमतिमा रन्जनकुमारीको घर भत्काएको दाबी गरे । ‘समाजले त्यही ठाँउमा सामुदायिक भवन निर्माण गर्ने निर्णय गरे हामीले मात्रै गरेका होइनौं,’ वडाध्यक्ष साहले भने, ‘त्यही ठाँउ किन रोजियो भन्नेबारे समाजले जवाफ दिन्छ होला मैले दिने होइन ।’

सार्वजनिक रुपमा सूचना जारी गरेर पर्याप्त समय दिएको उनको दाबी छ । तर घर नउठाएपछि भत्काइएको उनको भनाइ छ ।  वडाध्यक्ष साहले भने,‘स्थानीय समाजले निर्णय गरेपछि डोजर लगाएर टहरा हटाइयो ।’ रन्जनकुमारीलाई बस्ने घर अझै रहेको वडाध्यक्ष साहले दाबी गरे । 

त्यो स्थानमा सामुदायिक भवनको अत्यधिक जरुरी भएको वडाध्यक्ष साहको दाबी छ । तर वडाध्यक्षको दाबीसँग रन्जनकुमारी सदा सहमत छैनन् । उनी भन्छिन्, ‘कसलाई सूचना दियो, हामीलाई थाहै दिएन, एक्कासी डोजर लिएर घर भत्काउन आए, अन्नपात पनि निकाल्न पाएनौं त्यसमै अझै पनि छ । मेरो बस्ने एकमात्र त्यही घर थियो, म आफ्ना चार नाबालकसँग त्यही घरमा बस्थेँ ।’

घर भत्काइकै छेउमै रन्जनकुमारीको सासुको घर छ । तर रन्जनकुमारी सासुबाट अलग भएर बस्दै आएकी छन् । ‘सासुको घरमा नन्दहरु बस्छन्, हामी लामो समयदेखि बस्दै आएको घर भत्काएपछि चारजना छोरा लिएर कहाँ कहाँ जाऊँ?’ उनले दुखेसो पोखिन् । 

वडाध्यक्ष साहका अनुसार मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको ५० लाख रुपैयाँ बजेटमा उक्त स्थानमा उपभोक्ता समितिमार्फत सामुदायिक भवन निर्माण हुन लागेको हो ।

जबरजस्ती घर भत्काइएको भन्दै रन्जनदेबीले चैत २९ गते न्यायको र दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएकी थिइन् । उनको निवेदनमा प्रजिअ भोला दहालले सम्बन्धित पालिकासँग सवन्मय गरी छानबिनसहित आवश्यक सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीका नाममा तोक आदेश गरेका थिए । 

‘राजगढ गाउँपालिका ४ स्थित ऐलानी पोखरीको डिलमा मेरो बाजे बराजेको पालादेखी नै बसोबास गर्दे आएकोमा चैत २६ गते मेरो परिवारका कुनै पनि सदस्यको सहमति बिना तथा मेरो पति र ससुरा कमाउनका लागि भारत गएको अवस्थामा इलाका प्रहरी कार्यालय पथ्थरगाढाका दुईजना प्रहरीको उपस्थितिमा जेसिबी लगाएर बलपूर्वक घर भत्काए,’ रञ्जनदेवीले दिएको निवेदनमा भनिएको छ ।

प्रजिअ दाहालले वडाध्यक्ष र गाउँपालिका अध्यक्षलाई फोन गरी रञ्जनकुमारीको बस्ने वैकल्पिक व्यवस्था तत्काल गर्न भनिसकेको बताए । ‘बस्ने घर नभए वैकल्पिक व्यवस्थाका लागि पालिका अध्यक्ष र वडाध्यक्षलाई भनेको छु, थप बुझ्न प्रहरीलाई पनि भनेको छु’, प्रजिअ दाहालले भने ।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले वडा कार्यालयले सार्वजनिक जग्गामा रहेको घर सामुदायिक भवन बनाउन भत्काएको जानकारी आएको बताएका छन् । ‘वडा कार्यालयले निर्णय गरेर सार्वजनिक ऐलानी जग्गा खाली गराउने क्रममा प्रहरी माग्दा इलाका प्रहरी कार्यालय पथ्थरगाढावाट दुईजना प्रहरी त्यहा गएका हुन्,’ एसपी खतिवडाले भने,‘भत्काउने कार्यमा भने प्रहरी थिएन, हामी थप बुझ्दै छौ ।’

राजगढ गाँउपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले सामुदायिक भवन बनाउने विषय आफ्नो जानकारीमा आएको बताउँदै कसैको घर भत्काएको भए तथा ती व्यक्तिलाई बस्ने घरका लागि वैकल्पिक व्यवस्था मिलाइने बताए । 

नयाँ घर बनाइदिने आश्वासन

रन्जनकुमारीको घर भत्काइएको स्थानमा अहिले सामुदायिक भवनका लागि खाल्टो खनिएको छ । सामुदायिक भवन निर्माणका लागि घर भत्काइएको विषय बाहिरिएपछि वडाध्यक्ष साहले पहिला घर रहेको स्थानको छेउमा उनको नयाँ घर बनाइदिने आश्वासन दिएका छन् । 

बुधबार सोही स्थानमा भेटिएका वडाध्यक्ष साहले भने, ‘रन्जनकुमारीको नयाँ घर निर्माण गरिदिन्छौं । सिमेन्टको पोल र माथिबाट जस्ताको छाना हालेर रन्जनकुमारीको घर छेउमै बनाइदिन लागेका छौं,’ वडाध्यक्ष साहले भने, ‘दुई तीन दिनमा उनको पनि घर बनाउने काम सुरु हुन्छ ।’

अवधेशकुमार

Link copied successfully