जनकपुर — सर्लाहीको बरहथवाका ११ निजी अस्पताल मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गराएका छन् ।
सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना नभएका, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधिलगायत व्यवस्थापन नगरेका ११ अस्पतालमा मुख्यमन्त्री सिंहले ताला लगाउन निर्देशन दिएका छन् ।
बन्द गर्न निर्देशन दिइएका स्वास्थ्यसंस्थामा संकटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैप्पीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।
बुधबार राति बरहथवास्थित स्वास्थ्य संस्थाको अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधानविपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।
मुख्यमन्त्री सिंहले पछिल्लो समय मधेशमा बग्रेल्ती खुलेका निजी स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउने अभियान नै थालेको छ ।
